बलिउड अभिनेत्री पूजा बत्राले गरीन् दोस्रो बिवाह

Newslaya Home

बलिउड अभिनेत्री पूजा बत्राले गरीन् दोस्रो बिवाह

आइतबार २९, असार २०७६

काठमाडौं । बलिउड अभिनेत्री पूजा बत्राले ४२ वर्षको उमेरमा दोस्रो बिवाह गरेको खबर बाहिरिएको छ ।

सन् २००२ मा सर्जन डाक्टर सोनू अहलूवालियासँग विवाह गरेर अमेरिका पुगेकी पूजाले ९ वर्षपछि सम्बन्ध विच्छेद गरिन् । त्यसपछि उनी भारत फर्किइन् ।

यसैबीच, भारत फर्किएको केही समयपछि नै उनी बलिउडकै अभिनेता नवाब शाहसंग डेटिङ गरिरहेको चर्चा चल्न थाल्यो । अहिले उनै अभिनेता नवाबसँग पूजाले गोप्य रुपमा विवाह गरेकी छिन् ।

पूजा र नवाबले जम्मू–कश्मीरमा विवाह गरेका हुन् । दुबै लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले आफ्नो सम्बन्धलाई सकेसम्म गोप्य राखने प्रयास गरेका थिए ।

अहिले आएर सामाजिक सञ्जालमा उनीहरुको केही तस्बिरहरु सार्वजनिक भएका छन् । जसबाट के अनुमान लगाउन सकिन्छ भने उनीहरु वैवाहिक जीवनमा बाँधिएका छन् । नवाब र पूजाले नै हालै सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा पूजाको मेहन्दी लगाएको हातमा चूरा देख्न सकिन्छ ।

यद्यपि, हालसम्म उनीहरुले विवाहको औपचारिक घोषणा तथा जानकारी भने गराएका छैनन् । तर पूजाको हातमा देखिएको चूराले नै सबै कुराको वर्णन गरिरहेको छ ।

गत ईदको मौका पारेर ४६ वर्षीय नवाबले इन्स्टाग्रामार्फत पूजासंगको तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेम सम्बन्ध स्विकार गरेका थिए ।

पूर्व मिस इन्डिया समेत रहेकी पूजाले विरासत, नायक, हसीना मान जाएगी, भाइ, र्फज तथा एबीसीडी २ जस्ता बलिउडका फिल्महरुमा अभिनय गरेकी छिन् । नवाबले पनि भाग मिल्खा भाग, डन २, दिलवाले, टाइगर जिन्दा है जस्ता थुप्रै सफल फिल्महरुमा अभिनय गरेका छन् ।