प्रतिकुल मौसममा प्रदेश लिग : आलोचना छाडेर अवसर खोजौं

Newslaya Home

प्रतिकुल मौसममा प्रदेश लिग : आलोचना छाडेर अवसर खोजौं

-भूमिका पाख्रिन
बिहीबार २६, असार २०७६

खेलकुद मन नपराउने सायदै कम हुन्छन् । त्यसमा पनि संसार मै सर्वाधिक रुचाइने खेल मध्ये फुटबल नै अग्रपङ्तीमा आउँछ भन्दा अतियुक्ति नहोला । बुझ्न सजिलो, हेर्दा पनि उत्तिकै रमाइलो ।

त्यसैले होला, टोलको होस् वा अन्तर्राष्ट्रिय नै किन नहोस्, फुटबलले आम मान्छेलाई आकर्षित गर्ने गर्दछ । अन्तर्राष्ट्रिय फुटबललाई नियाल्ने हो भने कोपा अमेरीकाको रौनकताले विश्वभरका फुटबलप्रेमीको ह्याङओभर नउत्रिदै यता सामाजिक सञ्जालमा भने मुख्यमन्त्री कप प्रदेश लिगको सर्वत्र चर्चा चुलिएको छ ।

कुनै समयमा सहिद स्मारक ए डिभिजन लिग जस्ता ठुल्ठुला टुर्नामेन्टले मात्रै चर्चा पाउने नेपाली फुटबल बजारले अहिले भने प्रदेश लिगले पनि यतिका चर्चा पाउनु आफैमा सुखद् मान्न सकिन्छ ।

विराटनगरमा गर्ने तयारी गरिएको मुख्यमन्त्री कप प्रदेश लिग धरानमा सारिएको छ । विराटनगरको मैदान डु्बान भएपनि धरानमा गर्न लागिएको हो । वर्षाको समयमा बजेट सक्न छोटो समयमै तयारी विना प्रतियोगिता गर्न लागिएको भन्दै आलोचनासमेत भइरहेका छन् ।

आखिर सकारात्मक होस् या नकारात्मक नै किन नहोस्, प्रदेश लिगको चर्चा छ यतिबेला ।

खेल आयोजना गर्न प्रदेश सरकारको १ करोड रुपैयाँ र एन्फाको ३३ लाख बजेट छुट्याएको थियो । बजेट राम्रै हो । तर प्रतियोगिताको समय अलि प्रतिकुल देखिएको छ ।

असारे झरीमा प्रतियोगिता गर्ने कुरा आफैमा चुनौतीपूर्ण छ । धरानमै भएपनि झरीले खेल प्रभावित पार्ने संभावना त प्रबल छ नै । त्यसमाथि छोटो समयको तयारीले ब्यवस्थापकीय पक्षमा कमि कमजोरीहरु ठाउँ ठाउँमा भेटिन्छन् ।

कमि कमजोरीका चाङलाई केही पर राखिदिने हो भने प्रतियोगिताले दिएका सबल पक्ष पनि उत्तिकै छन् । लिग वा नकआउट प्रतियोगिताहरु खासै हुन नसकेको अवस्थामा यस प्रतियोगिताले खेल क्षेत्रमै केही गर्ने योजना बनाइरहेका खेलाडीलाई उmर्जा प्रदान गरेको छ ।

यस प्रतियोगिताका कारण खेल क्षेत्रमै सम्भावना देखेका हरेक खेलाडीले आफ्नो खेल कौशल देखाउने स्थान मात्रै पाइरहेका छैनन्, व्यवसायिक खेलाडीको रुपमा उत्पादन हुने सम्भावनासमेत उत्तिकै छ ।

आज ओझेलमा परेका मोफसलका फुटबलरहरु यहि र यस्तै प्रतियोगितामार्फत् नै आफूलाई अब्बल सावित गर्दै भोलि राष्ट्रिय टिममा आउने हुन् ।

तर खेलको समय गलत भयो । लगातारको मुसलधारे वर्षाले प्रतियोगिता हुने भनिएको सहिद मैदान जलमग्न भएसँगै खेल धरान रंगशालामा सारिएको छ । प्रदेशको राजधानी रहेको स्थानमा अवस्थित मोफसलकै गरिमा बोकेको सहिद मैदानमा आकाशे पानी पर्दैमा खेल गराउने अवस्था नहुनु अत्यन्तै दुःखद् हो ।

प्रतियोगिता गराउन सहिद मैदानलाई सिँगारिए पनि अन्तमा ठाउँ परिवर्तनले धेरै व्यवस्थापकीय चुनौतिहरु आइपर्छन् । किनकी बोल्नु र काम गर्नु फरक पाटा हन् ।

त्यसैले यो परिस्थितीजन्य घटनालाई धेरै उचाल्ने कामहरु भइरहेका छन् । वास्तवमा वाक स्वतन्त्रताका नाममा सामाजिक सञ्जालमा टिका टिप्पणी गर्नमा मात्रै हामी समय खर्चेका त छैनौ रु एक पटक मनन् गरौँ ।

एक खेलप्रेमीको हैसियतले प्रदेश १ लाई खेलमय बनाउन तपाई हामी सबैको उत्तिकै दायित्व छ । चुनौतीका बाबजुद आयोजकले प्रतियोगिता सम्पन्न गर्न जुन गतिमा काम गरेको छ त्यसलाई कम आँक्न मिल्दैन ।

प्रदेशमा पहिलो चोटी हुन लागेको यतिका ठूलो प्रतियोगितालाई पाठमा रुपमा लिन सकिन्छ । हरेक ठाउँमा कमी कमजोरी हुन्छन् । यद्यपी यस प्रतियोगितालाई अब सभ्य र भब्य बनाउनु पहिलो प्राथमिकता हो ।

किनकी यो एउटा प्रतियोगिता मात्र नभई प्रदेश कै गरिमा पनि हो । यस प्रतियोगिताबाट आयोजकले सिक्नु पर्ने ठाउँ धेरै छन् । आगामी दिनमा मौसम अनुकुल प्रतियोगिता गर्न जरुरी त छ नै, ब्यवस्थापकीय पक्षलाई पनि अझ सुधार गर्दै लानु पर्ने मुख्य आवश्यकता देखिन्छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • वसन्त अर्याल सहायक महासचिब एन्फालेख्नुहुन्छ
  • |
  • शनिबार २८, असार २०७६ ०६:५२
धन्यवाद लेखिका ज्यु सकारात्मक सोच का लागि