मोरङको मावा खोलामा बग्दै गरेकी महिलाको उद्धार

Newslaya Home

मोरङको मावा खोलामा बग्दै गरेकी महिलाको उद्धार

बिहीबार २६, असार २०७६

विराटनगर । मोरङको उर्लाबारीमा खोलाले बगाउँदै गर्दा बिहीबार दिउँसो एक महिलाको प्रहरी र स्थानीय बासिन्दाले जीवितै उद्धार गरेका छन् ।

बिहीबार दिउँसो ४ बजे झापा र मोरङको सीमानामा बग्ने मावा खोलाले उर्लाबारी नगरपालिका–६ की ४६ वर्षीया सुमित्रामाया कुमाललाई बगाएको थियो।

उनको उद्धारका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिना आफैँ खटिएका थिए।

तिमल्सिनाका अनुसार घर छेउमा रहेको खोलाको किनारमा बगेर आएका दाउरा जम्मा गर्दै गर्दा उनलाई बाढीले बगाएको थियो ।

घाइते कुमालको उर्लाबारी–५ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । खोलाले बगाउँदा धेरै पानी खाइएपछि उनको मुखबाट पानी निकालिएको थियो। गम्भीर अवस्थामा उद्धार गरिएकी महिलाको अवस्था खतरामुक्त रहेको र चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको ।