तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय

Newslaya Home

तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय

बिहीबार २६, असार २०७६

बिबिसि । आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यस्ता विषादीको प्रभावबाट जोगिन घरभित्रै के गर्न सकिन्छ ?

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माका सुझावः

१. वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटकसम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ । ५० देखि ६० प्रतिशत विषादी त्यसरी धारामा पखाल्दा बगेर जान्छ ।

२. अझै बढी विषादीलाई हटाउनु छ भने एक चम्चा नुन एक लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्ने । त्यसपछि निकालेर पखाल्दा ६० देखि ७० प्रतिशतसम्म विषादी हट्छ । नुन प्रयोग नगर्ने हो भने त्यसको सट्टा भिनेगर र पानीमा तरकारी या फलफूललाई डुबाउँदा पनि हुन्छ ।

३. अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनुपर्छ । धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने गर्छ । बोक्रा छिल्ने वा नखाने गर्नुपर्छ ।

उदाहरणको लागि बन्दाकोभी छ भने माथिको दुई तीन पत्र नै हटाउनुपर्छ । त्यो हटायो भने पनि विषादीको प्रभाव धेरै कम हुन्छ।

स्याउको पनि बाहिरको ब्रोका छोडाउन सकिन्छ । चिकित्सकहरूले कतिपय फलफूलका बोक्रामा शरीरलाई फाइदा पुर्‍याउने रेशाहरू हुन्छन् भन्ने गर्छन् । तर विषादी खाने कि नखाने भन्ने निर्णय चाहिँ हामी आफैँले गर्नुपर्छ ।

४. एकै प्रकारका फलफूल वा तरकारी खानुहुँदैन किनभने त्यसले विषादीको जोखिम बढाउँछ । खासगरि बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी मिसिएको हुन्छ ।हामीले मौसमी फलफूल र तरकारी खान जोड गर्नुपर्छ ।