ट्रम्पले भारतलाई दिए कडा चेतावनी

Newslaya Home

ट्रम्पले भारतलाई दिए कडा चेतावनी

बुधबार २५, असार २०७६

वाशिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि एकपटक चेतावनी दिएका छन् ।

उनले मंगलबार ट्विट गर्दै अमेरिकी उत्पादनमा भारतको तर्फबाट लगाइने भारी कर अब स्वीकार्य नहुने समेत जनाएका छन् । भारतले कर फिर्ता नगरेमा अमेरिकाको कदम के हुन्छ भन्ने कुरा भने उनले खुलाएका छैनन् ।

तर, ट्विटका अनुसार उनले आगामी दिनमा भारतका विरुद्ध कुनै कदम चाल्न सक्ने संकेत गरेका छन् । ट्रम्पको पछिल्लो ट्विटमा भनिएको छ,‘‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाइरहेको छ । अब यो स्वीकार्य छैन ।’’

गत जुन महिनाको शुरुमा जी २०को बैठकको ठीक अगाडि अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै भारतले २८ वटा अमेरिकी उत्पादनमाथि लगाएको कर फिर्ता लिनुपर्ने जनाएका थिए । यसबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच जापानको ओशाकामा भएको जी २० बैठकमा पनि कुराकानी भएको जनाइएको छ । तर, समस्या अझै पनि समाधान नभएपछि ट्रम्पले ट्विट गरेका हुन् ।