प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म बिछ्याउने

Newslaya Home

प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म बिछ्याउने

मङ्गलबार २४, असार २०७६

काठमाडौ । नेपालले समुन्द्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन थाल्न लागेको छ ।

प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म बिछ्याउने योजनाको सम्भाब्यता अध्ययन गर्न ५ वटा कम्पनीलाई ‘छनोट सूची’ मा राखेको बताइएको छ । अब कम्पनीहरुको आर्थिक प्रस्ताव मूल्यांकन गरेर एउटा छनोट गरिनेछ ।

हाल नेपालले भारत र चीनका विभिन्न ४ वटा नाकाबाट इन्टरनेट भित्र्याइरहेको छ । भारतसँगको भैरहवा, वीरगञ्ज र विराटनगर नाका तथा चीनसँगको रसुवागढी नाकाबाट इन्टरनेट भित्रिरहेको छ । समय–समयमा भारत र चीनतर्फ प्राकृतिक विपत्ति पर्दा नेपालमा इन्टरनेट सेवा प्रभावित हुने गर्छ ।

प्राधिकरणले सितारा कन्सल्टेन्ट–एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन जेभी, सिभिल ईन्फर्मेटिक्स एन्ड सोलुसन्स–स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम जेभी, महारुद्र ग्रुप –एक्जुकेटिभ कन्सल्टिङ ईन्जिनियरिङ एन्ड प्लानर जेभी, जियोकम ईन्टरनेशनल–म्याक्सटेक स्टड–सर्भिस जेभी र इन्टर इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि सर्टलिष्टमा राखेको छ ।

यीमध्ये एउटा कम्पनी कार्यक्रमका लागि परमर्शदाता नियुक्त हुनेछ । अबको दुई महिनाभित्रै कम्पनी छनोटको सबै प्रक्रिया टुंग्याएर अध्ययनको काम थाल्ने योजनामा प्राधिरकण छ ।

चीन वा भारतको सुमन्द्रको कुन प्वाइन्टसम्म ‘ब्ल्याक कोर फाइबर’ विस्तार गर्ने भन्नेबारे अध्ययन केन्द्रित हुनेछ । त्यसका लागि के–के रणनीतिक व्यवस्था गर्ने भन्नेबारे पनि रिपोर्टमा उल्लेख हुनेछ ।

यदि समुन्द्रसम्म नेपालले आफ्नो केबल विस्तार गर्न सके अन्य अन्तर्राष्ट्रिय कम्पनीबाट पनि इन्टरनेट खरिदको बाटो खुल्नेछ । त्यसले मूल्यमा प्रतिस्पर्धा भएर इन्टरनेट ब्यान्डविथको मूल्य थप सस्तो बन्ने तर्क गरिएको छ ।

तर, यसका लागि छिमेकी मुलुक भारत र चीनको सहयोग भने आवश्यक पर्छ । उनीहरुले सहयोग र समर्थन नगरेको खण्डमा उनीहरुको भूमि हुँदै केबल बिछ्याउन पाउने अवस्था हुँदैन ।