सत्तामा रहँदा काँग्रेसले विषादी परिक्षणमा चासो नदिएको अर्थमन्त्री आङ्बोको आरोप

Newslaya Home

सत्तामा रहँदा काँग्रेसले विषादी परिक्षणमा चासो नदिएको अर्थमन्त्री आङ्बोको आरोप

सोमबार २३, असार २०७६

धरान । प्रदेशको मुख्य स्रोतको रुपमा कृषिलाई प्राथमिकतामा राखिएको प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् ।

प्रदेशका कृषिजन्य क्षेत्रहरुलाई एग्रो टुरिज्मको रुपमा विकास गर्दै कृषि क्षेत्रको विकासमा सदैब रहने अर्थमन्त्री आङ्बोले प्रतिबद्धता जनाएका छन् ।

बराह ग्रुपद्वारा संचालित बराह कृषि उपज तथा पशुपालन प्रालिको अनुगमन तथा धान रोपाई कार्यक्रममा मन्त्री आङ्बोल फलफूल तथा तरकारीको विषादी परिक्षणको लागि प्रयोगशाला कार्यालय स्थापना गरिसकेको बताए ।

२०४८ सालदेखि एक छत्र देशको बागडोर सम्हालेको नेपाली काँग्रेसले विषादी परिक्षण प्रयोगशाला निर्माण गर्नतर्फ नसोचेको उनको आरोप थियो । ‘प्रतिपक्षले शासन सम्हालेर वार्षिक १ खर्बसम्मको फलफूल तथा तरकारी आयात गर्नुपर्ने अवस्थामा पु¥याए, विषादी परिक्षण गर्ने बारे सोचेनन्,’ उनले भने, ‘अहिले आएर परीक्षण सुरु भइसकेको समयमा राष्ट्रवादको मुद्धासँग जोडिरहेको छ ।’

उनकाअनुसार संघीय सरकारले सुरु गरेको प्रयोगशाला प्रदेश नम्बर १ बाट सुरुवात गरिएको छ । उनले भने, ‘प्रदेश १ सरकारले सुरु गरेको छ, अब संघीय सरकारले पनि ८ महिना भित्र देशका सबै नाकाहरुमा ८/९ वटा परिक्षण प्रयोगशाला संचालन गर्नेछ ।’

बराहले मोरङको ग्रामथान गाउँपालिकाको वडा नम्बर ५ मा साढे ६ बिघा क्षेत्रफलमा कृषि फार्म संचालन गरेको छ । एग्रो टुरिज्मको रुपमा विकास गर्न अभियान संचालन गरेको बराहले करिब ४ विगाहा क्षेत्रफलमा धान खेती गर्दै आएको छ ।

हराउँदै गएको बेठी प्रचलनलाई संरक्षण गर्दै आयोजना भएको धान रोपाई कार्याक्रममा धरान, काठमाण्डौं, मोरङलगायतका जिल्लाबाट कृषकहरुको सहभागिता रहेको थियो ।