चार सन्तानलाई पालैपालो कोशीमा फालेर रोशनासमेत फाल हालिन्, यस्तो छ कारण

Newslaya Home

चार सन्तानलाई पालैपालो कोशीमा फालेर रोशनासमेत फाल हालिन्, यस्तो छ कारण

आइतबार २२, असार २०७६

राजविराज । शनिबार सप्तकोशी नदीमा पाँच जना डुबे । तर बाढी आएर बगाएर होइन, उनीहरु कोशीमा फाल हानेका थिए ।

३५ वर्षीया रोशना खातुनले आफ्ना चार सन्तानसमेतलाई लिएर सप्तकोशी नदीमा फाल हानिन् । सुरुमा उनले चार सन्तानलाई कोशीमा फालिन् अनि आफू पनि हामफालिन् ।

साइला छोरा पाँच वर्षीय तहसिल भाग्यले बाँचे । उनले रुदै सल र चप्पल देखाएर घटनाबारे बताएपछि उनका दाजुभाईको खोजी गरियो । तर आमा रोशनाबाहेक कोही भेटिएनन् । उनी केही पर झाङमा अल्झिएको अवस्थामा भेटिइन् । खातुनका १२ र ७ वर्षीय छोरा तथा २ वर्षीया छोरी कोशीमा बगे । अहिलेसम्म शव भेटिएको छैन ।

१४ वर्षअघि विवाह गरेका दुबैका तीन छोरा र एक छोरी जन्मेका थिए । घर र माइती दुवैले साथ नदिएपछि यी महिलाले सन्तानसहित मर्न खोजेको बताएकी छिन् ।

अर्की महिलासँगको सम्बन्धका कारण श्रीमानले दिनहुँ कुटपिट गर्न थालेपछि माइतीको शरणमा गएकी खातुनलाई माइतीले पनि जबरजस्ती घर पठाएका थिए ।

माइतीले गाली गरेर घर फर्काइदिएपछि उनी घर नगई कोशीतर्फ गएको खुलेको छ । कोशी ब्यारेजमा शुक्रबार दिउँसै ओर्लिएकी उनी दिनभरी डुलिन् । मानिसको धेरै भीड रहेकोले राती उनले छोराछोरीलाई कोशीमा फालेर आफू पनि हाम फालिन् ।

त्यसअघि साँझमा भोकले रुन थालेका छोराछोरीलाई उनले खाजा किनेर खुवाएकी थिइन् । रातको समयमा उनले पालैपालो छोरा छोरीलाई नदीमा फालेपछि आफू पनि हाम फालेको साईला छोराले रुँदै बताएका थिए ।

रोशनाको साथबाट नगद नौ हजार रुपैया र सुनको झुम्का फेला परेको छ ।

खातुनको भारदहस्थित अस्पतालमा उपचार भएको छ ।