भारतले नेपाललाई प्रदान गर्ने सहयोगमा ४० प्रतिशतले बृद्धि

Newslaya Home

भारतले नेपाललाई प्रदान गर्ने सहयोगमा ४० प्रतिशतले बृद्धि

आइतबार २२, असार २०७६

काठमाण्डौ । भारतले नेपाललाई प्रदान गर्ने सहयोगमा अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि गर्ने भएको छ ।

भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले लोकसभामा पेस गरेको बजेटमा आर्थिक वर्ष २०१९÷२० मा नेपाललाई प्रदान गरिने अनुदान सहयोग बढाइएको उल्लेख छ ।

उनले शुक्रबार मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट ल्याएकी हुन् । चुनावअघि कामचलाउ बजेट ल्याएको भारतले शुक्रबार आर्थिक वर्ष सन् २०१९–२० को पूर्ण बजेट ल्याएको हो ।

सार्वजनिक भारतको राष्ट्रिय बजेटअनुसार नेपालले चालू आर्थिक वर्षमा १० अर्ब ५० करोड भारु अर्थात् १६ अर्ब ८० करोड नेपाली रुपैयाँको सहयोग पाउने छ ।

गत आर्थिक वर्षमा भारत सरकारले नेपाललाई दिइने सहयोग रकम ७ अर्ब ५० करोड भारु अर्थात् १२ अर्ब नेपाली रुपैयाँ छुट्याएको थियो । नेपालका लागि अघिल्लो वर्ष छुट्याइएको रकमभन्दा चालू वर्ष छुट्याइएको रकम ४ अर्ब ८० करोड रुपैयाँ बढी हो ।