मर्ज हुँदै ग्लोबल आइएमई र जनता बैंक

Newslaya Home

मर्ज हुँदै ग्लोबल आइएमई र जनता बैंक

शनिबार २१, असार २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जरका लागि निर्देशन दिएसँगै ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए ।

गभर्नरले निर्देशन दिएको एक सातामै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति गरेका छन् । शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेका हुन् ।

शुक्रबार मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले जानकारी दिए । उनले राष्ट्र बैंकको योजना र अहिलेको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय भएको बताए ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् ।

मर्जरका लागि सेयर स्वामित्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत कुँवर रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् । नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।

मर्जर पछि हाल रहेका बैंक मध्ये सबैभन्दा बलियो ग्लोवल आइएमई बन्नेछ । ग्लोबल आइएमईको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण अनुसार जगेडाकोषमा ५ अर्ब १२ करोड राखेको छ । तेस्रो त्रैमास अवधिमा एक अर्ब ८७ करोड खुद नाफा गरेको छ ।

यसैगरी जनता बैंकको जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ । यस बैंकले तेस्रो त्रैयमाससम्म ७० अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।