‘आफ्नो प्रतिबद्धताहरु राखे भैगो नि, अरुको आलोचना किन गर्नु’

Newslaya Home

‘आफ्नो प्रतिबद्धताहरु राखे भैगो नि, अरुको आलोचना किन गर्नु’

बुधबार ११, असार २०७६

उद्योग वाणिज्य संघ इटहरीको चुनाव असार १४ गते हुँदैछ । भोलि अर्थात् १२ गतेदेखि २१ औं साधारणसभा सुरु हुँदैछ । चुनावको सरगर्मी ह्वात्तै बढेको छ ।

चुनावमा व्यवशायीका दुई प्यानल भीड्दैछन् । आगामी तीन वर्षका लागि नयाँ नेतृत्वको रस्साकस्सी सुरु हुँदै गर्दा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष लिलम बस्नेतसँग चुनावको संघारमा न्यूजलयले केही चर्चामा आएका विषयहरुमा कुराकानी गरेको छ :

तपाईले नेतृत्व गरिरहनुभएको उद्योग वाणिज्य संघ इटहरीको चुनाव भड्कीलो भएन ?

पक्कै पनि भड्किलो भएको छ । उद्योगी व्यवशायीहरुको चुनावको लागि मैले जुन सिस्टम व्यवस्थित गरेको थिएँ, त्यो कहिँ कतै चुनावी प्रतिष्पर्धाले अस्तव्यस्त बनाएजस्तो लागेको छ । जति सिस्टममा राख्न खोजेपनि छिद्र निस्कँदो रैछ ।

उद्योग वाणिज्य संघ सुनसरीको चुनाव त्यती भड्किलो भएन, तर इटहरीको चुनाव किन यस्तो ? हाम्रो विधानमा कमी कमजोरी त छैन ?

पक्कै छ । व्यवशाय दर्ता गर्दा उद्योग वाणिज्य संघको सदस्य भइहाल्ने जुन नियम छ, त्यो नै राम्रो भएन । वाणिज्यतर्फ कम्तिमा एक वर्षअघि नवीकरण वा दर्ता भएका उद्योग, व्यवशायलाई मात्र मताधिकार दिने गरी विधान संशोधन गर्नुपर्छ । संशोधन भन्दा पनि नयाँ लेखन नै गर्नुपर्नेछ । अब अर्को वर्षको साधारणसभामा त्यो संशोधन गर्ने पक्षमा हामी जान्छौं । अब आउने नेतृत्वले विधान लेखन समिति बनाएर नयाँ विधान बनाउनेछ र साधारणसभाबाट पास हुनेछ ।

यस्तै यहाँ साना भन्दा साना व्यवशायीहरुको भीड देखिएको छ । जसले गर्दा अलि ठूला व्यवशायीहरु समेटिन सकेका छैनन् । त्यसको लागि अब ती व्यवशायीहरुको लागि छुट्टै कोटा छुट्याउनुपर्छ भन्ने लागेको छ ।

यो साधारणभासमा चाहिँ किन संशोधन नभएको ?

यो चुनावी साधारणसभा भएकोले यसैपटक गर्न मिलेन । अर्को वर्षको साधारणसभामा संशोधन हुन्छ ।

उम्मेदवारहरुबिच उछित्तो काढ्ने चलन यो पटक निकै बढेको हो ? अघिल्लो पटक त यस्तो देखिएको थिएन नि ।

यो सही कुरा गर्नुभयो । मैले सुरुदेखि नै भनेको थिएँ, एक उम्मेदवारले अर्को उम्मेदवारको विषयमा टिका टिप्पणी नगर्ने । तर अहिले उल्टो भइरहेकोछ । कमजोरी दुवै पक्षबाट भएको छ ।

आफ्नो प्रतिबद्धता राखे भैगो नि । अर्काको आलोचना किन गर्नु ? दुवै उम्मेदवारले यस्तो गरेका छन् । म त साझा बनेर सफलतापूर्वक चुनाव गराउन खोजेको थिएँ । तर साथीहरुले मेरै आलोचना गर्न छाडेनन् । झण्डा बोकेर हिड्यो भनेर आरोप लगाए ।
हो, हामी सबै एउटा एउटा पार्टीमा आस्था राख्छौं । तर उद्योग वाणिज्य संघमा छिर्दा पार्टीलाई ढोकाबाहिरै छाडेर छिर्छौं । हामी नितान्त व्यवशायी हौं ।

बाहिर पनि राजनीतिक आक्षेप नलागोस् भनेर सचेत हुनुपर्छ । यो पटकको साधारणसभामा पनि हामीले कुनै केन्द्रिय नेतालाई बोलाएका छैनौं । उद्योगी व्यवशायीका नेताहरुलाई बोलाएका छौं ।

ईश्वर भट्टराईको सदस्यताको शुल्क तिर्न बाँकी भन्ने कुरा आएको छ, के हो ?

यो सबै फाल्तु कुरा हो । हामीसँग नीति नियम छ । साथै आवश्यकता परेको बेलामा सहमतीको आधारमा पनि जान्छौं । सहमतीको पनि कुरा आउँछ । अनावश्यक हल्ला फैलाइएको हो । एशोसिएट्सबाट उद्योगमा सर्दा ५६ हजार रुपैया पैसा तिर्नुभयो । बक्यौता नै छैन । नकारात्मक मात्र हेर्ने बानी भयो ।

हामी सहमती गरेर जान्छौं । जस्तो भीम जीको मोरंगका दुई चार वटा ठूला उद्योगहरु छन्, तिनलाई पनि दर्ता गरेका छौं । ५–१० लाख रुपैया सिओ जारी गरेवापत वहाँले पैसा पनि दिनुभएको छ । सबै सहमतीअनुसार जाने कुरा हो ।

अन्तीममा नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै गर्दा अध्यक्षको हैसियतमा के भन्नुहुन्छ ?

मैले यही प्लेटफर्मबाट प्रदेश सभा सदस्यसमेत हुन सकेँ । यहाँका सबैलाई समेटेर मैले काम गर्न सकेँ । अब नयाँ समितिलाई जिम्मा लगाउँदैछु । उद्योग वाणिज्य संघको मेरो कार्यकाल सफल भएको अनुभव गरेको छु । मलाई गर्व लागेको छ ।