धरानको बजेट १ अर्ब ७७ करोड ९१ लाख

Newslaya Home

धरानको बजेट १ अर्ब ७७ करोड ९१ लाख

मङ्गलबार १०, असार २०७६

धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि १ अर्ब ७७ करोड ९१ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।

मङ्गलवार सुरु भएको पाँचौँ नगरसभामा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ ।

धरानले आन्तरिक आयतर्फ ३२ करोड २७ लाख ५ हजार, सङ्घीय समानीकरण अनुदान ३१ करोड ९४ लाख, प्रदेश समानीकरण अनुदान ९८ लाख ६८ हजार र सङ्घीय राजश्व बाँडफाँटबाट २५ करोड ८ लाख आयको अनुमान गरेको छ । यस्तै, प्रदेश राजश्व बाँडफाँटबाट २३ करोड ८ लाख २७ हजार, सङ्घीय सशर्त अनुदानबाट ३४ करोड ८५ लाख अनुमान गरेको छ भने प्रदेश सशर्त अनुदानतर्फ २ करोड, सङ्घीय समपूरक अनुदातर्फ १ करोड, सङ्घीय विशेष अनुदानतर्फ १ करोड ५० लाख र प्रदेश समपूरक अनुदानतर्फ ५० लाख अनुमान गरेको छ ।

व्ययतर्फ चालुतर्फको कार्यालय तथा वडागत चालु खर्चमा २६ करोड १० लाख ५० हजार,वडा पुँजीगत बजेटतर्फ २२ करोड ४० लाख बजेट अनुमान गरिएको छ भने क्रमागत भुक्तानीतर्फ १५ करोड, नगर गौरव आयोजनातर्फ १५ करोड, एकीकृत सहरी विकास आयोजनातर्फ २४ करोड र कार्यालयको पुँजीगत सम्पत्ति तर्फ ९९ लाख ५० हजार विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सूचनालगायत विषयगत कार्यक्रमहरूको लागि एकमुष्ट ७४ करोड ४१ लाख बजेट प्रस्ताव गरिएको छ ।

उपमहानगरले शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ कुल ४१ करोड ७५ लाख बजेट विनियोजन गरेको छ भने शिक्षा, युवा तथा खेलकुदतर्फ १ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ १ करोड ७१ लाख, सामाजिक विकासतर्फ १ करोड ८७ लाख बजेट विनियोजन गरिएको छ । पर्यटन विकासतर्फ १ करोड, धरान सङ्गीत प्रतिष्ठानमार्फत साहित्य कला र संस्कृतिको लागि ५० लाख, सार्वजनिक जग्गा तथा जलाधार क्षेत्रहरूको संरक्षण र उपयोगको लागि ७० लाख बजेट विनियोजन गरिएको छ ।

धरान उपमहानगरले ठुलो प्रकृतिका पूर्वाधार विकास निर्माणका कार्यहरूको दिगोपनाको लागि २५ लाख भन्दामाथिको विकास निर्माणको कार्यहरुको विस्तृत सर्भे, डिजाइन गरेर मात्र लगान अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने भएको छ भने वैशाख मसान्तपछि कुनै पनि आयोजनाको सम्झौता नगर्ने नीति लिइने र आयोजनाहरुको लागत, समय, परिणाम र गुणस्तर हासिल गर्न सम्झौता अवधिभित्रै आयोजना सम्पन्न गर्ने नीति लिइने पनि उल्लेख छ ।

यस्तै धरान उपमहानगरले नीति तथा कार्यक्रमतर्फ महिलाहरूलाई आत्मनिर्भर एवं उद्यमशील बनाउन ‘आत्मनिर्भर महिला धरानमा पहिला’ भन्ने नारा अघि बढाएको छ । उपमेयर उद्यमशीलता कार्यक्रममार्फत यो नारालाई कार्यान्वयन गर्न विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गर्ने र ५०/५० प्रतिशत साझेदारीमा सञ्चालन गर्ने उपमहानगरले जनाएको छ ।