बेलबारीको बजेट १ अर्ब ९१ लाख

Newslaya Home

बेलबारीको बजेट १ अर्ब ९१ लाख

मङ्गलबार १०, असार २०७६

बेलबारी । बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

चौथो नगरसभामा नगरपालिकाले पुँजीगततर्फ ४२ करोड ५० लाख ५८ हजार विनियोजन गरेको छ भने चालु खर्चतर्फ ५८ करोड ४१ लाख ३२ हजार बजेट प्रस्तुत गरेको छ ।

यस्तै आर्थिक विकास समितितर्फ ४ करोड १२ लाख ६० हजार बराबरको रकम विनियोजन गरेको छ । सामाजिक विकास समितितर्फ २४ करोड ८४ लाख ६ हजार बराबरको रकम विनियोजन नगरपालिकाले गरेको छ ।

प्रशासनिक कार्यमा वडा स्तरीय कार्यालय सञ्चालनको लागि ६० लाख ५० हजार र नगरपालिकातर्फ १२ करोड १८ लाख ५९ हजार गरी १२ करोड ७९ लाख ९ हजार विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकास समितितर्फ २८ करोड ९६ लाख ४७ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छ । लागत सहभागितामा ३ करोड बराबरको बजेट तथा कार्यक्रम समावेश गरिएको छ ।

सार्वजनिक सेवा तथा क्षमता विकास समितितर्फ १ करोड १६ लाख ३३ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन विकास समितितर्फ नगरस्तरीय वातावरणीय तथा विपद् व्यवस्थापन कार्यक्रममा ६० लाख र वडास्तरीय कार्यक्रममा १० लाख ५१ हजार गरी जम्मा ७० लाख ५१ हजार बजेट विनियोजन गरिएको छ ।


यस्तै नगरपालिकाले शव वाहनका लागि १३ लाख र दमकलका लागि ७० लाख रुपैयाँ बजेट छुट्ट्याएको गरेको छ । गर्भवती महिलाको निःशुल्क गर्भपरीक्षण साथै असहाय र बेवारिशेको मृत्यु हुँदा उनीहरूको दाहसंस्कार नगगरपालिकाले गर्ने भएको छ ।

बोयर जातको बाख्रा पालनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । जसका लागि १ करोड २५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ । बेलबारी–८ रइझारमा रहेको कयरखोलामा पक्की पुल निर्माण गर्नका लागि नगरपालिकाले डीपीआर बनाई काम थाल्ने जनाएको छ ।

बेलबारी–१ मा २२ करोडको लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गरिने र गरिबसँग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । स्वास्थ्य चौकी नभएका वडामा आगामी वर्ष स्थापना गरिने उल्लेख छ । विज्ञहरूसँग अन्तरक्रिया गरेर होमस्टे सञ्चालनका लागि प्रक्रिया अघि बढाइने उल्लेख छ ।