इटहरीको बजेट १ अर्ब ८५ लाख, यस्ता छन् मुख्य योजना

Newslaya Home

इटहरीको बजेट १ अर्ब ८५ लाख, यस्ता छन् मुख्य योजना

मङ्गलबार १०, असार २०७६

इटहरी । इटहरी उपमहानगरको पाँचौँ नगरसभामा आर्थिक वर्ष २०७६/२०७७ का लागि १ अर्व ८५ करोड ५० लाखको बजेट प्रस्तुत गरिएको छ ।

जसमा चालु तर्फ ७९ करोड ४ लाख ५५ हजार,पुँजीगत तर्फ १ अर्व ५ करोड,७५ लाख ५४ हजार र वित्तीय व्यवस्था तर्फ ७० लाख रहने अनुमान गरिएको छ ।

इटहरी ९ को जनता क्रिकेट पार्क निर्माण सम्पन्न गर्न ५० लाख रकम छुटटयााइएको छ । वडा नम्बर ५ मा काब्यवाटिका सिटी पार्क निर्माण सम्पन्न गर्ने र सबै वडामा एक एक वाल उद्यान निर्माण गरिने भएको छ । इटहरी अस्पतालमा २४ घण्टा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । उपप्रमुख सँग सुत्केरी भेट अभियान चलाइने भएको छ । सुत्केरी महिलालाई अस्पतालमा सुत्केरी गराउन आउँदा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने बताइएको छ ।

चालु आर्थिक वर्षमा ७ सय योजना सडक निर्माणको भएकोमा आगामी आर्थिक वर्ष समेत वडा स्तरीय र नगर स्तरीय सडक निर्माणमा जोड दिइएको छ । वाहय चक्रपथ निर्माण प्रक्रिया थालिने भएको छ ।


कृषि तथा पशुपक्षी विकास कार्यक्रमका लागि २ करोड विनियोजन गरिएको छ । महिलाको उद्यमशीलताको विकासका लागि उद्यमशील विकास कोष स्थापना गरिने भएको छ । घरेलु औद्योगिक ग्राम स्थापनाका लागि ५० लाख विनियोजन गरिएको छ ।

बजारको मुख्यभागमा सार्वजनिक शौचालय निर्माण गर्न ७२ लाख छुट्ट्याइएको छ । हिंसा पीडित महिलाका लागि सुरक्षित आवास गृह आगामी वर्षमा निर्माण गरिने भएको छ । सबै वडामा हिंसा आत्मरक्षा तालिम सञ्चालन गरी प्रतिरक्षा समूह गठन गरिने भएको छ । खेलमैदान निर्माण र खेलकुद विकासका लागि १ करोड १० लाख विनियोजन गरिएको छ । बहुजातीय ग्राम निर्माण सुरु गरी तीन वर्षमा सम्पन्न गरिने भएको छ ।

खाद्य प्रयोगशाला स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । सरोकारवाला संस्था सँग समन्वय गरी इटहरीउपमहानगरवासीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने भएको छ । इटहरीका सबै सामुदायिक विद्यालयमा सिसी क्यामरा जडान गरी उपमहानगरबाटै निरीक्षण गर्ने व्यवस्था गरिने भएको छ । अहिले १६ वटा विद्यालयमा यो कार्यक्रम लागु छ । शिक्षा क्षेत्रको विकासमा १ करोड ४५ लाख विनियोजन गरिएको छ । खोला तथा डे«न सफाइ कार्यक्रमका लागि ५० लाख छुट्ट्याइएको छ ।