बिर्तामोडका मेयरले इन्स्योरेन्सबाट रकम लिएर पनि सरकारसँग क्षतीपूर्ती मागेको खुलासा

Newslaya Home

बिर्तामोडका मेयरले इन्स्योरेन्सबाट रकम लिएर पनि सरकारसँग क्षतीपूर्ती मागेको खुलासा

मङ्गलबार १०, असार २०७६

झापा । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका छन् । तर, मेयर सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ ।

२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन् ।

मेयरले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो बिर्तामोड शाखामा निवेदन हालेका थिए । २२ असार ०७५ मा दुवैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ ।

इन्स्योरेन्स कम्पनीमा भएको रेकर्डअनुसार गाडी मेयर सिवाकोटीकै नाममा र घर श्रीमती विद्या बस्नेतको नाममा देखिन्छ  । गाडीको बिमा रकम मेयर सिवाकोटीको नाममा भुक्तानी दिएको र घरको भने सिंहबाहिनी टी स्टेट प्रालिको नाममा चेक बनाएर दिएको इन्स्योरेन्सका कर्मचारीले बताए । सिंहबाहिनी टी स्टेट मेयरको फर्म हो  ।

मेयर सिवाकोटीले गाडीको बिमा गरिएको भए पनि बिमा कम्पनीले रकम दिन नमानेको बताएका थिए । ‘बिमा कम्पनीले तीन लाख मात्र दिन्छु भनेपछि मेरो दिमाग खराब भयो, छाडिदिएँ । त्यो कम्पनीको नाम पनि मलाई थाहा छैन ,’ मेयरले भनेका थिए । बिमा र सरकारबाट दोहोरो रकम लिएकोबारे सोमबार जानकारी लिन खोज्दा मेयर सिवाकोटी सम्पर्कमा आउन चाहेनन्  ।

साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा आन्दोलित स्थानीयले १० कात्तिक ०७४ मा मेयरको शनिश्चरेस्थित घरमा आक्रमण गरेका थिए  । घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै आक्रोशित स्थानीयको आक्रमणमा सिवाकोटीको घरका झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे १झ १२१ नम्बरको गाडीमा र बा १०च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो । त्यस्तै मे ७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए ।

मेयर सिवाकोटीले घटनाको केही समयपछि जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड चार लाखबराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति माग गरेका थिए । २० र २३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ३० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।