‘अब उद्योग वाणिज्य संघमार्फत् पनि सेवा गर्न चाहन्छु’ : जीवन पराजुली

Newslaya Home

‘अब उद्योग वाणिज्य संघमार्फत् पनि सेवा गर्न चाहन्छु’ : जीवन पराजुली

मङ्गलबार १०, असार २०७६

इटहरीमा उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै गर्दा इटहरी स्थितहोटल इन टुसरस्ट प्यालेसका संचालक जिवन पराजुली वाणिज्यतर्फ सदस्यमा उठेका छन् । पराजुली होटल व्यवशायी संघको अध्यक्ष पनि हुन् । उनीसँग न्यूजलयको लागि सरिता भण्डारीले गरेको कुराकानी :
चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
चुनौती, अवसर र अनुभवको आधारमा म चुनाव लड्दै छु । चुनौती धेरै छन् । भन्नाले व्यवसायीका समस्या, व्यवसायीका मुद्दालाई चुनौतिका रुपमा लिएको छु । होटल व्यवसायी संघको अध्यक्ष बनेर उद्योग वाणिज्य संघको सदस्यमा उमेदवारी दिन मैले एउटा अवसर प्राप्त गरेको छु । अनुभवका कुरामा म विभिन्न संघ सस्थामा काम गरेर आएको हुँ । इटहरी नै मेरो कर्मथलो भएकाले यो क्षेत्रमा काम गर्नु पर्छ भनेर चुनावको तयारी गरिरहेको छु ।

तपाइको व्यवसायीक यात्राको बारेमा बताइ दिनुस् न !
इटहरीको संगीत चोकमा २०३१ सालमा किसान परिवारमा मेरो जन्म भएको हो । पहिलादेखि नै मेरो बुबाको सोँच कृषि पछि व्यवसाय गनुपर्छ भन्ने थियो । बुबाले पुर्वाञ्चलमा यातायातबाट व्यवसायको सुरुवात गर्नु भएको थियो । त्यो समयमा यतातिर सडक पनि बनेको थिएन । साझा नेपाल नाम गरेको बस धरानबाट काँकडभिट्टा दिनमा एक पटक मात्र चल्थ्यो तेति बेला । बुबाको व्यवसायलाई साथ दिन हामीले पनि धेरै बर्ष गाडीमा काम गर्यौं । पछि आएर मैले व्यवसाय परिवर्तन गर्ने सोँच बनाएँ । मैले २०५८ सालदेखि पहिरन बुटिक खोलेँ । त्यतिबेला इटहरीमा फेसन डिजाइनमा पहिलो चोटि बुटीक मैले सञ्चालनमा ल्याएको थिएँ । त्यसपछि म पर्यटन व्यवसायमा गएँ । २०६२ सालमा होटल तिरुपति खोलेर १४ वर्ष होटल व्यवसायमा सेवा गरेँ । होटल तिरुपतिबाट मैले धेरै पर्यटकलाई इटहरी भित्राएँ र धेरै मानिसहरुलाई सेवा दिएँ । होटल तिरुपति धेरै चर्चित होटल बन्यो । उक्त होटलमा हाम्रो राष्ट्रपति विद्या भण्डारी पनि आएर बस्नु भएको थियो । एउटा होटलमा केके सेवा सुविधा हुनु पर्छ भन्ने कुरामा म धेरै अनुभव गरेर लागी परेको छु । अन्तर्राष्ट्रिय क्षेत्रमा २०–२५ वटा देश घुमेको छु । त्यहाँका होटलहरुको सुविधा देखेको छु । देखेअनुसार र आफुले अनुभव गरेअनुसार अहिले इटहरीमा होटल इन टुरीष्ट प्यालेस सञ्चालनमा ल्याएको छु ।

इटहरीको सन्दर्भमा व्यवसायीका मुख्य समस्याहरु के–के होलान् त ?
व्यवसायीका समस्याहरु धेरै छन् । सबैभन्दा पहिलो समस्या भनेको करको समस्या हो । व्यवसायको करसम्बन्धी ज्ञान नभएर धेरै व्यवशायीहरु जरिवानामा पर्ने गर्छन् । अण्डर बिलिङ हुन्छ । त्यस्तो सामान ल्याउँदै गरेको बाटोमा हामी व्यवशायीहरु जहिले पनि कर, भ्याट, राजस्वको डर, त्रास बोकेर हिड्नुपर्छ । खुलेर आफ्नो पैसा व्यवसायमा लाउँदा पनि व्यवसाय राम्रो सँग गर्न पाएका छैनौँ । त्यसैले अहिलेको मुख्य समस्या करको नै छ जस्तो मलाई लाग्छ । यस्तै अन्य समस्याहरु पनि छन् जस्तै सुरक्षा, घर भाडा, घर बहाल कर ।

तपाइले उद्योग वाणिज्य संघको चुनाव जितेर गएपछि व्यवसायीक विकासका लागि के गर्नु हुन्छ ?
उद्योग वाणिज्य संघको चुनाव जितेर गएपछि सबैभन्दा पहिला व्यवसायीका लागी तालिमको व्यवस्था गराउँछु । साना साना व्यवसायीहरुले राज्यको व्यवस्था परिवर्तन भइसकेको छ, भ्याटमा जानुपर्छ, कर तिर्नुपर्छ भन्ने कुरा कतिपयले थाहा नपाएको अवस्था छ । राज्यले त भनेको छ तर व्यवसायीलाई अवगत नभएको हुन सक्छ । त्यो सम्बन्धी विज्ञ ल्याएर तालिम गराउने मेरो सोँच छ । कर कार्यालयको गाडी आउँदा व्यवसायीले सटर तानेर भाग्न नपर्ने स्थिती बनाउँछु ।

तपाईको प्रतिष्पर्धी भन्दा तपाई के कारणले सक्षम छु र जित्छु जस्तो लाग्छ ?
म चुनाव लड्दै गर्दा मसँग अवसर, अनुभव र व्यवसायीका मुद्दालाई सजिलैसँग चिर्न सक्छु । किनभने मसँग कामको अनुभव छ । व्यवसायीका मुद्दाहरु मसँग छन् । म आफै पनि एक व्यवशायी हुँ । त्यसले गर्दा जुन कुरा मलाई थाहा छ त्यो कुरा म लागु गर्न सक्छु । एउटा कन्फीडेन्ट चालकले राम्रोसँग गाडी चलाउन सक्छ । सिकिरहेको चालकले राम्रो सँग गाडी चलाउन सक्दैन ।

अन्त्यमा आफ्ना भोटर्सहरुलाई के भन्न चाहनु हुन्छ ?
व्यवसायी साथीहरुमा म यहि भन्न चाहन्छु कि यो व्यवसायीको चुनाव हो । काम गर्न सक्ने र व्यवसायीहरुको हितमा काम गर्न सक्ने व्यक्तिलाई नै भोट दिनुस् । तपाईहरुलाई परेको खण्डमा एउटा टिम नै आउन सक्ने वातावरण बनोस् । त्यो वातावरणले गर्न यो तीन वर्षमा हामीले गरेको कामलाई तपाईहरुले महसुस गर्न सक्नुहोस् ।