आज विप्लवको बन्द, विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

Newslaya Home

आज विप्लवको बन्द, विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

मङ्गलबार १०, असार २०७६

काठमाडौं । विप्लव माओवादीका कार्यकर्ताले बन्द सफल पार्न देशका विभिन्न ठाउँमा मंगलबार बिहानै बम र शंकास्पद वस्तु राखेका छन् ।

बझाङ र झापासहित विभिन्न स्थानमा बम भेटिएको छ । झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको हो । यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।

त्यस्तै उदयपुरको विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । कटारी बजार र गाईघाटको प्रगतिटोलमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तुबारे नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ ।

विप्लव समूहका कार्यकर्ताले सिन्धुलीको भिमाद पुलमा पनि शंकास्पद वस्तु राखेका छन् ।