प्रकाश सपुतको नाममा दलित समुदायलाई गाली गर्नेविरुद्ध इटहरीमा उजुरी

Newslaya Home

प्रकाश सपुतको नाममा दलित समुदायलाई गाली गर्नेविरुद्ध इटहरीमा उजुरी

सोमबार ०९, असार २०७६

इटहरी । गायक प्रकाश सपुतको नाममा दलित समुदायलाई गाली गरेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँदै दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सिँगो दलित समुदायलाई गाली गरेको भन्दै अधिकारकर्मी गजमेरले संजिव राई कान्छा, सुभाष मंगोल र रखल मगरविरुद्ध उजुरी हालेकी छिन् । उनीहरुलाई खोजतलास गरी पक्राउ गरी कारबाही माग गरेकी हुन् ।
शान्ति फाउन्डेसन संस्थाकी अध्यक्ष गजमेरले लिखित उजुरी दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको इप्रका इटहरीले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत् दलित समुदायलाई गाली गरेको भन्दै गजमेरले उजुरी दिएर यो विषयलाई बहसको रुप दिएकी थिइन् ।

त्यसपछि आजकै संसदलाई मीन विश्वकर्माले ध्यानाकर्षण गराएका थिए भने विभिन्न क्षेत्रबाट विरोध सुरु भएको थियो ।

प्रहरीका अनुसार फेसबुकमा दलित समुदायलाई होच्याउँदै जातीय गाली गर्नेलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराध तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार मुद्दा चलाउन सक्नेछ ।

जातीय विभेद र छुवाछुत गरेको ठहर भए तीन वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना सजाय हुने व्यवस्था छ । यसबाहेक अभियुक्तले पीडित पक्षलाई क्षतिपूर्ति दिनु पर्दछ । यसैगरी साइबर अपराधअन्र्तगत विद्युतीय सञ्चार माध्यममा अर्काको बेइज्जत गरेको ठहर भए पाँच वर्षसम्म सजाय हुने व्यवस्था छ ।