‘इटहरीमा व्यवस्थित औद्योगिक ग्रामको स्थापना गर्छौ’ : बेदनाथ भेटवाल (राजन)

Newslaya Home

‘इटहरीमा व्यवस्थित औद्योगिक ग्रामको स्थापना गर्छौ’ : बेदनाथ भेटवाल (राजन)

सोमबार ०९, असार २०७६

बेदनाथ भेटवाल (राजन) इटहरीको लागि नौलो नाम होइन । न्यु क्वालिटि आइसक्रीम उद्योगका सञ्चालक उनी अन्य व्यापार र व्यवशायमासमेत संलग्न छन् । भेटवाल यो पटक उद्योग वाणिज्य संघ इटहरीको चुनावमा सदस्यका उम्मेदवार बनेका छन् । उनीसँग न्यूजलयका लागि सरिता भण्डारीले गरेको कुराकानी :

चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
हामी विशेष गरि अध्यक्षका उम्मेदवार शैलेश विष्टसँंग वाणिज्यका पसलहरुमा तथा उद्योगहरुमा उद्योगी तथा व्यवसायीलाई भेटेर भोट मागिहरेका छौं ।

तपाइको व्यवसायिक यात्राको बारेमा बताइदिनुस् न ।
म विगत २६ वर्षदेखि व्यवसायमा संलग्न छु । सुरुमा मैले कंक्रीट उद्योगबाट व्यवशाय सुरु गरेको थिएँ र अहिले पनि म उद्यमीकै रुपमा म उद्योग चलाइरहेको छु । सुरुको अवस्थामा व्यवसाय गर्न निक्कै अफ्ठ्यारो थियो । त्यो समयमा मैले एकदम थोरै पुँजिमा उद्योग सञ्चालन गरेको थिएँ । अहिलेसम्म आइपुग्दा धेरै समस्याहरुको सामना गर्दै गएँ । अहिलेको अवस्थामा उद्योग राम्रै सञ्चालन भइरहेको छ । र अहिले चै मसँग तीन वटा उद्योग छन् । यहि उद्योगलाई विस्तार गरेर जाने क्रममा छु ।

सफल व्यवसायी बन्नका लागि के गर्नु पर्दो रहेछ ?
सफल व्यवसायी बन्न सबै भन्दा पहिला आफुमा आत्मविश्वास तथा त्यो व्यवसायप्रतिको कटिबद्धता हुनुपर्छ । किनभने व्यवसायमा धेरै खालका उतार चढाव आउँछन् । सुरुमा व्यवसाय गर्दा आफुले सोचेजस्तो र लगानी गरे जस्तो प्रतिफल पाउन गाह्रो हुन्छ । त्यो अवस्थामा संयमता अपनाउन जरुरी हुन्छ र आफुले गर्ने व्यवसायलाई मुलतः आफ्नो उत्पादनसँग जोडिएका कुराहरु बुझ्न जरुरी हुन्छ । आफुले गर्ने व्यवसाय तथा उद्योगको बजार कस्तो छ, त्यसको मागलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई बुझ्न तथा राम्रोसँग सुक्ष्म तरीकाले अध्ययन गरेर व्यवसाय तथा उद्योग गर्दा फलदायि हुन्छ ।

इटहरीका व्यवसायीहरुको मुख्य समस्याहरु के होलान त ?
व्यवसायीहरुको मुख्य समस्या भनेको हामीहरु घरेलु उद्यमीहरु हौँ । हाम्रो जस्तो उद्योगहरुबाट उत्पादन भएका बस्तुहरु स्थानिय बजारमा मात्र बिक्री वितरण गर्नु पर्ने अवस्था छ । भारत तथा अन्य मुलुकबाट आयात हुने बस्तुहरुले हामीलाई समस्यामा पारेको छ । अर्को समस्या भनेको यहाँ उत्पादन भएको र बाहिरबाट आयात भएको सामानहरु हेर्दा उस्तै भएपनि क्वालिटिमा धेरै फरक हुन्छ । बाहिरबाट आयात भएका सामानभन्दा यहिँ उत्पादन भएका सामानहरु राम्रो क्वालिटिका हुन्छन् । मुल्यको हिसाबमा हामीले अलि महँगोमा बेच्नुपर्ने हुन्छ । र व्यवसायी तथा उद्योगहरुमा देखा परेको अर्को समस्या भनेको कामदारको हो ।

तपाइले जितेर गएपछि यो क्षेत्रको व्यवसायीक विकारका लागी के गर्नु हुन्छ ?
म यो भन्दा अगाडी घरेलु महासंघ सुनसरीको कोषाध्यक्ष पनि हो । र यो भन्दा अगाडी २०७३ सालमा पनि म १ नम्बर प्रदेशको उद्योग प्रबद्र्धन मेलाको आयोजक समितिको संयोजकमा रहेर काम गरीसकेको व्यक्ति हुँ । गत कार्तिक तथा मसिंरमा इटहरी उपमहानगरपालिकाकी उपमेयर ज्युको संयोजकत्वमा हामीले १० जनाको टोली कलकत्तामा गएर औद्योगीक अवस्थाको विषयमा जानकारी लिएका थियौं । त्यहाँ उद्योगीहरुको लागि उद्योगग्राम भनेर छुट्याइएको पाएँ । त्यहाँको व्यवस्थापन र नीति नियमलाई यहाँ लागु गरेर उद्योगको विकास गर्न भूमिका खेल्छु । इटहरीमा पनि सर्वप्रथम घरेलु उद्योगग्राम परिकल्पना गरेका छौँ र स्थानिय सरकारबाट पनि ५० लाख सम्मको बजेट छुट्याइसकेको अवस्था छ । जहाँसम्म लाग्छ हामीले जितेर गयौ भनेदेखि घरेलु उद्योगग्राम स्थापना गर्ने कार्यमा लाग्नेछौं ।

तपाइको प्रतिस्पर्धी भन्दा तपाई के कारणले सक्षम छु र जित्छु जस्तो लाग्छ ?
मैले विगत १० वर्षदेखि घरेलु उद्यमीहरुको पक्षमा काम गरेको छु । सुनसरी नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीको सदस्य हुँदै कोषाध्यक्ष समेतको जिम्मेवारी बहन गर्दाखेरि हरेक घरेलु साना उद्यमीहरुको घर आँगनमा गएर वहाँहरुको समस्याहरुको सुक्ष्म तरिकाले अध्ययन गरेको छु । वहाँहरुको प्रेरणा तथा साथ सहयोगबाट पनि मैले आफ्नो उम्मेदवारी दिएको हुँ । वहाँहरुले तपाइजस्तो मान्छे उद्योग वाणिज्य संघमा जानुपर्छ, हामी तपाइलाई साथ दिन्छौँ भनेकोले नै म अघि बढेको हुँ ।

व्यवसायीले तपाइलाई नै किन भोट दिने ?
व्यवसायीले मलाई नै किन भोट दिने भने मैले १० वर्षअघिबाट व्यवसायी तथा उद्यमीको हक हितका निम्ती काम गरेको छु । सानो व्यवसायबाट अहिले यो अवस्थामा आएको छु । म अरुलाई पनि व्यवशायको लागि प्रेरणा दिन सक्छु । मैले गरेको हरेक काम व्यवसायीकै हक हितमा भएकाले व्यवसायीले मलाई भोट दिनु हुनेछ भन्ने आशा छ ।

अन्तिममा आफ्ना भोटर्सहरुलाई के भन्न चाहनु हुन्छ ।
म सबैभन्दा पहिला त उद्योग वाणिज्य संघमा हुन गइरहेको यहि असार १४ गतेको निर्वाचनमा हाम्रा भन्दा नि राम्रा उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर जिताउँ भन्छु । उद्यमी र व्यवसायिको पक्षमा काम गर्न सक्ने, समय दिन सक्ने र अफ्ठ्यारो तथा असजिलो पर्दा उपस्थित भएर सहयोग गर्न सक्ने व्यवशायीलाई जिताऔं भन्छु ।