नारायणहिटीमा सिनेमा, वीरेन्द्र र ऐश्वर्यले हेर्थे अंग्रेजी फिल्म, रिल बोकेर मध्यरातमा कुदाकुद

Newslaya Home

नारायणहिटीमा सिनेमा, वीरेन्द्र र ऐश्वर्यले हेर्थे अंग्रेजी फिल्म, रिल बोकेर मध्यरातमा कुदाकुद

सोमबार ०९, असार २०७६

काठमाडौँ । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, ‘राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?’
तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो ।

दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन ।

त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा पु¥याइएको रिललाई हतारिँदै प्रोजेक्टरमा राखेर चलाउँथे । यता ‘हाफ टाइम’को रिल सकिँदा उता सिनेमा हलमा ‘हाफ टाइम’ पछिको भाग सकिन्थ्यो । त्यसलाई फेरि हतारिँदै दरबारतर्फ कुदाइन्थ्यो । दरबारमा हेरिसकेको रिललाई पुनः हतारिँदै सिनेमा हलमा फर्काइन्थ्यो ।

दरबारका पूर्वकर्मचारी जयराम महर्जनले त्यो बेलाको दृश्यलाई यसरी स्मरण गर्नुभयो, ‘छोटो दूरी थियो, त्यसैले ल्याउन सजिलो हुने भएकाले प्रायः जयनेपाल सिनेमा हलबाट रिल ल्याइन्थ्यो । कर्मचारीहरू सतर्क अवस्थामा रहन्थे । सिनेमा हलमा रिल सकिनासाथ दरबारतिर ल्याइन्थ्यो ।’

वि.सं. २०२६ मा बनेको नारायणहिटी दरबारभित्रको हलमा ५४ वटा कुर्सी र पाँचवटा सोफा राखिएका छन् । सोफामा तत्कालीन राजपरिवारका महत्वपूर्ण सदस्य मात्र बस्न पाउँथे । धूलो पर्ने भएकाले अहिले ती सोफा छोपेर राखिएका छन् भने अन्य कुर्सी त्यत्तिकै छन् ।

दरबारका अर्का पूर्वकर्मचारी रोहित ढुङ्गानाले उपत्यकाका सिनेमा हलबाट प्रायः ‘नाइट सो’का रिल ल्याउने गरिएको सुनाउनुभयो । ‘प्रायः राति सिनेमा हेर्ने भएकाले नाइट सोमा चलिरहेका सिनेमाका रिल ल्याइन्थ्यो’, उहाँले थप्नुभयो, ‘बढीजसो मुमाबडामहारानी रत्नले हेर्ने गर्नुहुन्थ्यो । रानी ऐश्वर्यले पनि हेर्नुहुन्थ्यो तर राजा वीरेन्द्रले कमै हेर्नुहुन्थ्यो । २०४६ सालपछि वीरेन्द्रले एक÷दुई पटक मात्र हेर्नुभयो ।’

प्रायः हिन्दी सिनेमा हेर्ने गरिन्थ्यो । नेपाली कमै बन्थे, त्यसैले कमै हेरिन्थ्यो । शुक्रबार आयोजना हुने पारिवारिक भोजपछि सिनेमा हेर्ने प्रायः चलन हुन्थ्यो । सिनेमा जसका तर्फबाट आयोजना गरिन्थ्यो, उसका पाहुना बढी हुन्थे । तत्कालीन राजा वीरेन्द्रका पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप रानाले लेख्नुभएको ‘दरबारको दुःखान्त’ पुस्तकमा सिनेमा हलबारेमा पनि उल्लेख गर्नुभएको छ, ‘दरबारको थिएटरमा पाएसम्म नेपाली फिल्म हेरिन्थ्यो, नपाए हिन्दी फिल्म पनि देखाइन्थ्यो । भारतले २०४५ सालमा नाकाबन्दी लगाएपछि भने त्यहाँ हिन्दी सिनेमाको प्रदर्शन लगभग बर्जित भयो ।’

तत्कालीन मुमाबडामहारानी रत्नलाई हिन्दी सिनेमा बढी हेर्नुपर्ने भएकाले २०४५ सालपछि उहाँका लागि हिन्दी सिनेमा प्रदर्शन गरिन्थ्यो भने राजा वीरेन्द्र र रानी ऐश्वर्यले प्रायः अङ्ग्रेजी सिनेमा हेर्न रुचाउनुहुन्थ्यो । भिडियो क्यासेटको प्रचलन बढेपछि सिनेमा हलबाट रिल ओसारेर हेर्ने क्रम बन्द भएको एडीसी रानाले पुस्तकमा उल्लेख गर्नुभएको छ ।

दरबारका अर्का पूर्वकर्मचारी गोपालराज भण्डारीका अनुसार सिनेमा हलमा चिया–कफीसम्म खाने गरिन्थ्यो । सिनेमा हलको प्रोजेक्टर बिग्रँदा बाहिरका सिनेमा घरका प्राविधिकलाई बोलाएर मर्मत गरिन्थ्यो ।

नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख अद्वैतप्रकाश श्रेष्ठले बाहिरका सिनेमा हलमा प्रदर्शन गर्नुअघि नै कतिपय सिनेमा सुरुमै दरबारमा हेर्ने गरिन्थ्यो भन्दै थप्नुभयो, ‘सिनेमा हलमा श्वासप्रश्वासमा समस्या आउन सक्ने र भित्र प्रवेश गर्ने एउटा मात्र ढोका भएकाले अवलोकनकर्तालाई आउजाउ गर्न कठिनाइ हुने हुँदा त्यसलाई खुला गर्न सकिएको छैन । यसका लागि समय लाग्छ ।’

गोरखापत्रबाट साभार