अर्जेन्टिनाद्वारा कतार २–० ले पराजित

Newslaya Home

अर्जेन्टिनाद्वारा कतार २–० ले पराजित

सोमबार ०९, असार २०७६

काठमाडौं । सुरुका दुई खेलमा खराब नतिजा निकालेको अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्न सफल भएको छ ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा अर्जेन्टिनाले कतारलाई २–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेज र सर्जियो अग्युरोले गोल गरे । चौथो मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले सुरुवाति अग्रता लियो । ८२ औँ मिनेटमा अग्युरोले गोल गरेपछि अर्जेन्टिना २–० ले विजयी भयो ।

पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको थियो । सुरुका दुई खेलको नतिजाले उसलाई अघिल्लो चरण पुग्न समस्या हुने अवस्था आएको थियो ।

तर समूहको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० ले हराएपछि अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा तय भएको हो ।

लगातार तीन खेलमा जित निकालेको कोलम्बिया समूह विजेता तथा अर्जेन्टिना चार अंकसहित समूह उपविजेता बनेको छ । दुई अंकसहित पाराग्वे तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनाले अन्तिम ८ मा भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।