धर्म परिवर्तनलाई खुकुलो बनाउन नेपालसँग अमेरिकी प्रतिनिधिको माग

Newslaya Home

धर्म परिवर्तनलाई खुकुलो बनाउन नेपालसँग अमेरिकी प्रतिनिधिको माग

सोमबार ०९, असार २०७६

काठमाडौं । अमेरिकी दूतावास र अमेरिकाबाट आएका प्रतिनिधिहरुले सरकारसँग नेपालमा धर्मान्तरणलाई खुकुलो बनाउन माग गरेको पाइएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार उनीहरुले नेपाल सरकारसँगको भेटवार्ताको क्रममा पटक पटक यस्तो माग गरेको पाइएको हो ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने ‘रिपोर्ट अन इन्टरनेसनल रिलिजियस फ्रिडम २०१८’ को यो वर्षको रिपोर्टमा नेपालमा धर्मान्तरण गर्नेलाई पक्राउ गरी स्वदेश फिर्ता गरिदिएको बारेमा समेत उल्लेख गरिएको छ । जुन २१ मा जारी गरेको सो रिपोर्टमा अमेरिकाले विशेषगरी ईशाई धर्मालम्बीहरुमाथि हिन्दूहरुले ज्यादती गरेको जस्ता विषयहरु उल्लेख गरेको छ ।

विभिन्न स्थानको घटनाहरुलाई समेटेको सो रिपोर्टमा अमेरिकाले बाँके जिल्लामा रहेको क्याथोलिक चर्चमा हिन्दू जागरण नेपालले गरेको आक्रमण लगायतका घटना देखाएर नेपालमा क्रिश्चियनहरु असुरक्षित रहेको बताएको हो ।

यस्तै, सोही रिपोर्टमा क्रिसमसमा विदा कटाएको, हिन्दू राजनीतिक दलका नेताहरुले क्रिश्चियन धर्मालम्बीहरुमाथि आक्रमण गरेको जस्ता जानकारीहरु अमेरिकी राजदूतावासमा आएको गुनासो र अमेरिकी राजदूतले चलाएको ट्वीटर संवादबाट समेत जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।

यो रिपोर्टको विषयमा सरकारले कुनै प्रतिक्रिया दिएको छैन । नेपालको संविधानमा जवर्जस्ती धर्म परिवर्तनलाई प्रतिबन्ध लगाईएको छ । यसैमा पनि केही कमजोरी भने नराखिएको पक्कै छैन । यद्यपि जवर्जस्ती धर्मपरिवर्तन संविधान विपरित नै छ ।

परराष्ट्र मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी सुरेश अधिकारीले अमेरिकी प्रतिनिधि मण्डलले धर्मान्तर खुकुलो गर्न भेटघाट गरेको विषयमा भने आफू जानकार नभएको भएपनि सधैंको भेटघाटमा उनीहरुले धर्मको मुद्दा उठाईरहने जानकारी दिएका छन् ।