शव जलाउने डिजेल प्लान्टका लागि मितेरी बैंकको सहयोग

Newslaya Home

शव जलाउने डिजेल प्लान्टका लागि मितेरी बैंकको सहयोग

बुधबार ०४, असार २०७६

धरान । धरान १५ स्थित खत्रीधारामा रहेको दाहसंस्कार स्थलमा निर्माणाधिन शव जलाउने डिजेल प्लान्टका लागि मितेरी बैंक धरानले आर्थिक सहयोग गरेको छ ।

डिजेल प्लान्टबाट शव जलाउने शवदाहसंस्कार स्थलका बैंकले १ लाख ५० हजार रुपैया ट्रष्ट निर्माणका लागि सहयोग गरेको छ । झिंगु समाजले निर्माण शुरु गरेको प्लान्टका लागि बुधबार एक कार्यक्रमको आयोजना गरि बैंकका अध्यक्ष किसन मास्के सहित प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले समाजका अध्यक्ष सुरेन्द्रमान स्थापितलाई १ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

धरानमै केन्द्रिय कार्यालय रहेको मितेरी बैंकका कार्यकारी अधिकृत वस्तीले जनताबाट निक्षेप संकलन गरेर, ऋण लगानी गरी नाफा कमाएको रकमको केही हिस्सा बैंकले समाजको लागि पनि उत्तरदायित्व वहन गर्न सहयोग गरिरहेको बताए ।


२०६६ सालमा करिब १ करोड ६० लाख रुपैयाको अनुमानित लागतमा निर्माण शुरु भएको दाहसंस्कार स्थलमा दाउराबाट शव जलाउने दुई स्थान र नेपाल मै पहिलो पटक डिजेलबाट शव जलाउने प्लान्ट निर्माण शुरु भएको हो । आधा घण्टा भित्र शव जल्ने अनुमान गरेर डिजेल शव दाहसँस्कार स्थलको तयारी भइरहेको निर्माण समितीका संयोजक मोहन काजी शाक्यको भनाई छ ।

नगरपालिकाले उपलब्ध गराएको करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको शव दाहसंस्कार स्थललाई व्यवस्थीत बनाउन आधुनिक आरसिसि शव दाहसंस्कारस्थल, अर्काे ट्रष्टको शवदाह सँस्कारस्थल, ट्वाइलेट, चेन्जिङ रुम, ढुंगेधारा, शवको खुट्टा डुबाउन कमल पोखरी, कम्पाउण्ड वाल लगायत क्रियापुत्री बस्ने कोठाहरु समेत निर्माण भईसकेका छन् ।