भीम पौडेललाई चुनाव जित्न किन सजिलो ?

Newslaya Home

भीम पौडेललाई चुनाव जित्न किन सजिलो ?

सोमबार ०२, असार २०७६

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको चुनावको मिति नजिकिएसँगै चुनावी चहल–पहल बढ्दै गएको छ । अध्यक्षका उम्मेदवार भीमबहादुर पौडेल र अर्का उम्मेदवार शैलेश विष्ट बिच प्रतिष्पर्धा हुँदैछ ।

नेपाली काँग्रेसका पौडेल र नेकपाका विष्टबिचको चुनावी प्रतिष्पर्धालाई विशुद्ध व्यवशायिक भनिएपनि पार्टी प्रतिष्पर्धाको रुपमा हेरिएको छ । दुवैलाई जिताउन सम्बन्धित पार्टीहरु कम्मर कसेर लागिपरेका छन् ।

यो पटकको चुनावमा कसले बाजी मार्ने हो, झट्ट भन्न गाह्रो छ । तथापी हामी यहाँ भीम पौडेलले जित्न सक्ने आधारहरुका विषयमा विश्लेषण गर्दैछौं ।

१७/१८ वर्षको उमेरदेखि व्यवसाय सुरु गरेका भीम पौडेल शैलेस विष्टभन्दा उमेरमा पाका हुन् । संघर्ष पनि निकै धेरै गरेका छन् । मजदुरबाट सफल व्यवशायी बनेका पौडेल निकै प्रभावशाली व्यक्ति हुन् । उनी आफैले सञ्चालन गरेका र शेयर कायम गरेका झण्डै दर्जन बढी व्यवशायमा दर्जनौंले रोजगारी पाएका छन् । उनीसँग व्यवशायीहरुको कार्यगत नेटवर्क राम्रो छ । जसले चुनावमा विष्टलाई धक्का दिन सक्छ ।

अर्कोतर्फ पौडेलको सबल पक्षका रुपमा उनको आर्थिक हैसियत र मुठी फुकाएर खर्च गर्नसक्ने क्षमतालाई हेरिन्छ । पौडेलले धेरै सामाजिक काममा खर्च गरेका छन् । जसले गर्दा उनको आर्थिक पक्ष विष्टलाई हराउने कारक बन्न सक्छ । तुलनात्मक रुपमा सामाजिक कामहरुमा आर्थिक योगदान विष्टले भन्दा पौडेलले बढी दिएका छन् भन्ने आँकलन गरिएको छ ।

पौडेलको अर्को सबल पक्ष भनेको उनी नेपाली काँग्रेससम्बद्ध व्यवशायीका नेता हुन् । सिंगो नगरको नेतृत्वमा नेकपा हावी भएपनि व्यवशायीहरुको चुनावमा भने नेपाली काँग्रेसले लामो समय नेतृत्व लिएको ठाउँ हो, इटहरी ।

काँग्रेस नेता तथा व्यवशायी रोहित प्रसाईले दुई कार्यकाल अध्यक्ष बनेको ठाउँ हो इटहरी । सोअघि पनि टंक दुलालले सफलतापूर्वक अध्यक्षता सम्हालेको ठाउँ हो । अहिले दुलाल व्यवशायीहरुको प्रदेश स्तरीय समितिको नेतृत्व तहमा छन् भने प्रसाईले त इटहरी मेयरको टिकट नै पाए । त्यसैले यहाँ काँग्रेस समर्थित व्यापारीहरुको संख्या धेरै छ भन्ने तर्क गर्नेहरुको संख्या ठूलो छ ।

प्रसाईको दुई कार्यकालपछि भएको चुनावमा भने काँग्रेसले आफ्नो वर्चस्व गुमायो । चुनावमा एमालेका लिलम बस्नेतले ईश्वरी पराजुलीलाई हराए । त्यसो त बस्नेत व्यापारीको मात्र होइन, संसदीय चुनाव नै जितेर प्रदेश सभा सांसद बनेका छन् । त्यहाँ उनको सक्रियताको प्रसंसा इटहरीवासीले गरिरहेका छन् । हक्की स्वभावका र आँटेको काम पुरा गरिछाड्नुपर्छ भन्ने सोँच राख्ने बस्नेतले कसरी काँग्रेसको किल्ला भत्काएर व्यवशायीको नेता बने भनेर विश्लेषण गरिरहँदा धेरैजसो जस उनको आन्तरिक तयारीलाई जान्छ । बस्नेत चुनावको राम्रो विश्लेषण गर्न सक्ने र मानिसको नाडी छामेर सोहीअनुसार व्यवहार गर्न सक्छन् । पौडेलमा त्यो कुराको थोरै कमी देखिन्छ । पौडेल, बस्नेतको तुलनामा कम पनि बोल्छन् ।

खोलाको ढुंगा गिटी बालुवाको ठेक्का पारिरहने पौडेल नियम विपरीतको उत्खनन् गरेको भन्दै विवादमा आइरहन्छन् । तर उनको विषयमा नकारात्मक कुरा सुनेकाहरुले पनि उनलाई भेट्दा व्यवहारले प्रभावित भएको प्रतिक्रिया दिने गरेको पौडेल पक्षका एक व्यवशायी बताउँछन् ।
पौडेल र बस्नेतमध्ये को बढी सफल भन्ने विश्लेषण अलग पाटो होला, तर बस्नेतजस्तै पौडेल पनि व्यवशायमा सफल छन् । अनि उनी पैसा खर्च गर्ने तयार देखिन्छन्, जुन चुनाव जित्न सक्ने दह्रो कारण हुन सक्छ ।

किनकी अघिल्लो चुनावमा बस्नेत र पराजुलीबिचको भीडन्तमा पराजुलीभन्दा मुठी फुकाएर खर्च बस्नेतले गरेका थिए । र नेपालका जुनसुकै चुनावमा पैसाले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । चाहे त्यो मिडियाको सन्दर्भमा होस् वा पार्टी चुनावका सन्दर्भमा । गएको इटहरी नगरको चुनावमा तात्कालिन एमालेले दुई हजार मात्र मत अन्तरले नगरको चुनाव जित्न सकेको थियो, जुन अन्तर एमालेको वर्तमान ‘हैसियत’ भन्दा निकै कम हो ।

यसमा पनि पैसालाई एउटा महत्वपूर्ण फ्याक्टर मानिएको छ । त्यती बेलै पनि काँग्रेस उम्मेदवारले राप्रपाको भोट किनेको चर्चा चलेको थियो । नेपालका मतदाता अहिले पनि त्यती विवेकी भइसकेका छैनन् कि पैसामा मत नबेचुन् ।

पौडेललाई पछि पार्ने एउटा फ्याक्टर हुन सक्छ, व्यवशायीहरुसँगको कम घुलमिल । उनी विष्टजति चिनिएका व्यक्ति होइनन् । विष्टले उद्योग वाणिज्य संघमा नेतृत्वदायी भुमिकामा रहेकाले पनि जनसम्पर्क राम्रो छ । त्यती मात्र होइन, इटहरीको विकासमा विष्टको बुवा र अन्य पारिवारिक सदस्यको योगदानले पनि उनलाई सहयोग गर्छ । जुन पौडेलसँग त्यती छैन । उनले पहाडबाट आएर व्यवशायिक र सामाजिक हैसियत आफै बनाएका हुन् ।

तर अघिल्लै चुनावको नजिर हेर्ने हो भने पनि बस्नेतभन्दा पराजुली बढी चिनिएका व्यक्ति थिए । तर पनि पराजुलीले जित्न सकेनन् । बस्नेतले बाजी आफ्नो हातमा पारे । त्यसैले पपुलारिटीलाई भोटर्सहरुले अघिल्लो चुनावमा झै वेवास्ता गरिदिए भने पौडेलले संघको अध्यक्ष जित्ने सम्भावना राम्रो छ ।

यस्तै नेकपाभित्रको गुट यो चुनावमा मेयर–पत्रकार काण्डले गर्दा धमिलै भएपनि सतहमा देखिएको छ । जबकी पौडेलको नेपाली काँग्रेसमा अहिले विभाजन देखिएको छैन । जसको फाइदा सोझै पौडेललाई जानसक्ने सम्भावना छ ।

यस्तै चुनावअघि दिइएको समयभित्र पौडेल समुहले प्रशस्तै व्यापारीलाई नयाँ पान वितरण गरेको आरोप विष्ट पक्षधरले लगाएको छ । धरानमा हुने उद्योग वाणिज्य संघको चुनावमा अघिल्लो वर्षसम्म नविकरण भएका फर्मका प्रतिनिधिले मात्र भोट हाल्न पाउने व्यवस्था छ । तर इटहरीमा भने चुनावको एक महिनाअघिसम्म नवीकरण वा दर्ता गर्नेले मताधिकार पाउने अवस्था रहेकोले पनि दुवै समुहलाई यो फाइदा वा घाटाको विषय बनेको छ । तर यो प्रावधानलाई पौडेल पक्षले बढी उपयोग गर्न सकेको अनुमान गरिएको छ ।

शैलेस विष्टप्रति यसो भन्छन् पौडेल :
म यो चुनावमा जित हात पार्नेमा विश्वस्त छु । वास्तवमा अहिलेको समितिले केही काम गर्न सकेन । हो, म पनि कार्य समिति सदस्य छु । तर समितिमा रहेर हामीले काम गर्ने अवस्था रहेन किनकी कार्यकारी भूमिकामा त उहाँहरु (शैलेस) हुनुहुन्छ नि !

अहिलेको समितिले यसो रिवन काट्ने, उद्घाटन गर्ने काम त धेरै गर्नुभयो होला उहाँहरुले । तर ठोस काम भएको छैन । सिसी क्यामेराको काम भयो अनि सोलारको काम भयो । त्यो पनि सरकारले दिएको पैसामा । अझै पैसा तिरिसकिएको छैन रे ।
अरु त्यस्तो ठोस देखिने काम केही भएन ।

अझ उहाँहरुले त नगरपालिकाले करको दायर बढाउँदै गर्दा त्यसमा हस्ताक्षर गर्नुभएको थियो । व्यवसायीले चुनावमा त्यसको जवाफ दिनेछन् ।

आफूले गरेका कामहरुबारे यस्तो भन्छन् पौडेल :
मैले व्यवसायीलाई जस्तो सुकै समस्या पर्दा सुख–दुःखमा साथ दिएको छु । कुनै भवितव्य, बाढी, आगलागी हुँदा पुगेको छु, मैले सक्ने सहयोग गरेको छु । राजस्व घटाउने कुरामा, मारवाडी दम्पती हत्याको केश लगायका सारा कुरामा प्रत्यक्ष सहभागी भएर सहयोग गरेको छु । जसलाई इटहरीका व्यवसायीले सम्झिनु भएको छ । मैले गरेका सामाजिक काम कै कुरा गर्नु हुन्छ भने त मैले ५० रुपैयाँ कमाए भने ३० रुपैयाँ सामाजिक काममा लगाउँछु ।

मैले सामाजिक काममा करोडौं लगानी गरेको छु । धनकुटाको खुकुछिन्ताङमा विद्यालयलाई अक्षय कोष, धनकुटाकै महालक्ष्मी नगरपालिकाको अर्को विद्यालयमा पनि अक्षय कोष स्थापना गरेको छु । यस्तै मोरङको लेटाङ, कानेपोखरी, इटहरीमा गरेर १० किलोमिटर जति बाटो कालोपत्रे गरेको छु । यस्तै लेटाङमै केही विद्यालयमा भवन पनि बनाएको छु । यसैगरि भर्खरै इटहरीकै प्राणमी मन्दिरलाई ५१ लाख रुपैयाँ बराबरको सहयोग गरेको छु । अन्य साना–साना सहयोग त सम्झिएर नसकिने छन् ।