‘व्यवशायीलाई व्यवशायीक ज्ञान र व्यवस्थापनका काममा सक्षम बनाउनुुपर्छ’ : रन्जु सिग्देल

Newslaya Home

‘व्यवशायीलाई व्यवशायीक ज्ञान र व्यवस्थापनका काममा सक्षम बनाउनुुपर्छ’ : रन्जु सिग्देल

शनिबार ३२, जेठ २०७६

रन्जु सिग्देल इटहरीकी सक्रिय महिला व्यवशायी हुन् । सिग्मा सप्लायर्सकी सञ्चालक रहेकी सिग्देल विभिन्न संघसंस्थामा रहेर सामाजिक जिम्मेवारी निर्वाहसमेत गरीरहेकी छिन् । उनी शैलेश विष्ट प्यानलबाट उद्योगी व्यवशायीको चुनावको उम्मेदवार बनेकीछिन् । उनीसँग न्यूजलयका लागि सरिता भण्डारीले गरेको कुराकानी :

चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
चुनावको तयारी हामीले अहिले मात्र गरेको हैन । विगत तिन वर्षदेखि नै काम गरेर व्यवसायीको मन जितेर चुनावको तयारी गरिरहेका छौ । अहिले पहिलो चरणमा चै घरदैलो गरेर चुनावको तयारी गरिरहेका छौँ ।

तपाइको व्यवसायिक यात्राको बारेमा बताइदिनुस न ।
म व्यवशायमा प्रवेश गर्नु अगाडी कलेजमा प्राध्यापन गर्दै थिएँ । पछि व्यवसाय पनि सुरु गरेँ । व्यवसाय र प्राध्यापन सँगै गर्ने क्रममा दुबैतिर समय दिन सकीनँ । आफ्नै व्यवसाय धेरै हेर्नु परेकाले प्राध्यापन छोडेर व्यवसायमा लागेँ । करिब १२ वर्ष अगाडि हामी श्रीमान, श्रीमती मिलेर व्यवसाय सुरुवात गरेका थियौँ । अहिले पनि त्यहि व्यवसायलाई निरन्तरता दिइरहेका छौँ ।

सफल व्यवसायी बन्नका लागी के गर्नु पर्ने रहेछ र के आवश्यक पर्दो रहेछ ?
सफलता पाउन सबैभन्दा अगाडी शिक्षा आवश्यक पर्छ । सबै ठाउँमा शिक्षाको आवश्यकता पर्छ । तर शिक्षा पाए डिग्री हासील गरेँ भनेर जागीर नै गर्नु पर्छ भन्ने छैन । शिक्षालाई व्यवसायमा पनि लागु गर्न सकिन्छ र शिक्षाकै आधारमा हामीले आफ्नो व्यवसायलाई पनि अगाडी लान सक्छौँ । र अर्को कुरा व्यवसायि भएपछि आत्तिनु हुँदैन । धैर्य धारण गर्न सक्नु पर्छ । सानो व्यवसायबाट नै ठुलो व्यवसायी भइन्छ भन्ने सोचमा अगाडी बढ्नु पर्छ ।

इटहरीको सन्दर्भमा व्यवसायिका मुख्य समस्याहरु के होलान् त ?
इटहरीको सन्दर्भमा व्यवसायिका मुख्य समस्याहरु निक्कै छन् । त्यसमा पनि अहिले घर भाडा सम्बन्धी कुराहरु आएका छन् । त्यस्तै अन्य समस्या भनेको बजारीकरणमा समस्या, मुल्य निर्धारणमा समस्या, होलसेल र रिटेलमा समस्या बजारमा देखा परेका छन् । अनि मुख्य समस्या भनेको व्यवसायिले हरेक सामानको हिसाब राख्न नजानेर करमा आएको समस्या, राजस्वले छानविन गर्दा देखा परेका समस्याहरु छन् ।

तपाइले जितेर गएपछि यो क्षेत्रको विकासका लागी के गर्नु हुन्छ ?
अगाडिको चुनावमा जितेर आएपछि पनि हामीले धेरै काम गरेका थियौँ । र यो चुनाव जितेपछि पनि गर्नेछौँ । अबको जितपछि सबैभन्दा सुरुमा व्यवसायिलाई शिक्षित बनाउने काम, आफ्नो व्यापार व्यवसायको बजारीकरण, व्यापार व्यवसायको हर हिसाब राख्ने कुरादेखि लिएर व्यापारीलाई परेका समस्याहरु समाधान गर्नेबारे विभिन्न तालिमहरु सञ्चालन गर्ने र स्थानिय निकायहरुसँग सहकार्य गरेर व्यापारीहरुको हक हितमा काम गर्ने छु ।

तपाइको प्रतिष्पर्धीभन्दा तपाइ के कारणले सक्षम छु र जित्छु जस्तो लाग्छ ?
म आफुलाई सक्षम मान्छु के कारणले भने मसँग लामो समय व्यवसाय गरेको अनुभव छ । विभिन्न संघ सस्थाहरुमा काम गरेका अनुभव छन् । म महिला तर्फको उमेदवार भएकाले सम्पुर्ण व्यवसायीको समस्या अवगत हुँदा हुँदै पनि महिला व्यवसायीको समस्या तथा त्यसका समाधान र महिला व्यवसायीसँग प्रत्यक्ष सम्पर्क बढी छ । त्यो हिसाबले पनि म अरुभन्दा सक्षम छु जस्तो लाग्छ ।

व्यवसायीहरुले तपाईलाई नै भोट किन दिनुपर्ने ?
व्यवसायीले मलाइ भोट दिनुपर्ने कारण के हो भने अघिल्लो पल्ट चुनाव जितेर आउँदा उद्योग वाणिज्य संघको लागी धेरै नै काम गरेको छु । फेरी पनि अरु बाँकी रहेका कामहरु छन् । ति कामहरुलाई पुरा गर्नका लागी र इटहरीका व्यवसायिको हक हितमा लड्नका लागी सक्षम छु जस्तो लाग्छ । त्यसैले मलाइ नै व्यवसायीले भोट दिनु पर्छ जस्तो लाग्छ ।

आफ्ना भोेटर्सहरुलाई के भन्न चाहनुहुन्छ ।
इटहरीमा व्यवसाय गर्नुृहुने सम्पुर्ण व्यवसायीहरुलाई म के भन्न चाहन्छु भने विगत ३ वर्षमा हामीले गरेका कामहरुको मुल्याङ्कन गरिदिनुहोस् र बाकीरहेका कामहरुलाई फेरी पुरा गर्ने अवसर दिनुहोस् ।