भण्टाबारी नाका हुँदै भारतमा बेचिन लागेका २ महिलाको उद्धार

Newslaya Home

भण्टाबारी नाका हुँदै भारतमा बेचिन लागेका २ महिलाको उद्धार

बुधबार २९, जेठ २०७६

सुनसरी । भण्टाबारी नाका हुँदै भारतमा बेचिन लागेका दुई जना महिलाको उद्धार गरिएको छ ।

घरको काममा लगाइदिने भन्दै भारतको दिल्लीमा बेच्न लाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सीमा सशस्त्र प्रहरी बल भण्टाबारी र मानव अधिकारकर्मीको संयुक्त टोलीले महिलाहरुको उद्धार गरेको हो ।

फोन सम्पर्कमार्फत् चिनजान गरी २ जना महिलासँगै दिल्ली जान तयारी अवस्थामा रहेका एक दलाललाई नियन्त्रण लिएको सशस्त्र प्रहरीले जानकारी दिएका छन् ।

इटहरीबाट २ जना महिला र एकजना दलालसँगै अर्का एकजना पुरुषले भण्टाबारी नाका हुँदै भीमनगरबाट दिल्ली जान बसमा चढ्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

दिल्लीमा घरको काममा लगाइदिन्छु भन्ने प्रलोभन देखाई बिराटचौक–१० की २३ वर्षीया शेषकुमारी अधिकारीले पथरी–१ की ३५ वर्षीया कोपिला पोखरेल र काठमाडौं कपन बस्दै आएकी ३४ वर्षीया कुन्ती ठकुरी लाई बेचबिखन गर्न लाँदै गर्दा उनीहरूको उद्धार गरिएको मानवअधिकारकर्मीले जानकारी दिएका छन् ।

भारतमा उद्धार गरिएकोले आवश्यक कानूनी प्रक्रिया पु¥याई उनीहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

उद्धार गरिएका महिलाद्वयले आफूहरूले कसैलाई नचिनेको र काममा लगाइदिने प्रलोभनमा भारतमा जान लागेको बयान दिएको प्रहरीले जनाएको छ ।