पठनपाठन रोकेर विद्यालयमा विवाह भोज

Newslaya Home

पठनपाठन रोकेर विद्यालयमा विवाह भोज

बुधबार २९, जेठ २०७६

जनकपुर । महोत्तरीको गौशाला नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय निगौंलमा मंगलबारदेखि बिदा दिइएको छ ।

समाजवादी पार्टी नेपालका नेता लक्ष्मी महतोका भतिजको विहेको भोजभतेरका कारण मंगलबार बन्द रहेको विद्यालय दोश्रो दिन बुधबार पनि खुलाइएको छैन् ।

मंगलबार दिनभर विद्यालयमा भोजभतेरका कारण पठनपाठन हुन सकेन । मंगलबार नै भौजभतेर सकिए पनि आज पनि विद्यालय बन्द रहेको जनाइएको छ ।

विद्यालयमा विवाहको भोज गर्न विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेर स्वीकृति दिएको बताइएको छ भने विद्यार्थीलाई बिदाको सूचना दिइएको थियो।

पठनपाठन रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू समेत सामेल भएका थिए। नेताहरुले विद्यार्थी बसेर पढ्ने डेक्सबेन्चमै भोज खाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले ठूला व्यक्तिको बिहेमा जन्ती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको बताएका छन् ।

विद्यालयको पठनपाठन बन्द गराई भोज भतेर गर्नु गलत भएको मानवअधिकार रक्षक सञ्जाल महोत्तरीले जनाएको छ ।