रेडबुल जस्तै देखिने रेडब्लुको आयातमा रोक

Newslaya Home

रेडबुल जस्तै देखिने रेडब्लुको आयातमा रोक

बुधबार २९, जेठ २०७६

काठमाडौं । सरकारले इनर्जी ड्रिंक रेडबुलमा भएको गोरुका चित्र जस्तै देखिने रेडब्लुको आयातलाई रोक्का
गरेको छ ।

पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ अनुसार रेडबुलमा भएकोजस्तो जुधिरहेका गोरुको चित्र भएको रेड ब्लुको आयात रोक्का गरिएको उद्योग विभाग कानून शाखाका उपसचिव टङ्क बहादुर महतले जानकारी दिए ।

तर, गोरुका चित्र नभएको रेडब्लुको आयात तथा बिक्रिवितरणमा भने रोक नलगाइएको महतले जानकारी दिए ।

रेडबुल आयात गरी बिक्री वितरण गर्दै आएको गोर्खा ब्रुअरीले गोरू जस्तो देखिने चित्र (ट्रेडमार्क) चोरी भएको भन्दै गत बैशाखमा उद्योग विभागमा उजुरी हालेको थियो ।

जेठमा उद्योग विभागले छानविन गरी ट्रेडमार्क चोरी भएको प्रमाणित भएको थियो । त्यस विरुद्ध रेडब्लु कम्पनी उच्च अदालत गएर स्टे–अर्डर लिएर आएको उनले जानकारी दिए ।

जेठ २४ गते अदालतले पनि उद्योग विभागको प्रमाणलाई सदर गर्दै रेडब्लुलाई रेडबुलको गोरुजस्तो चित्र प्रयोग गरेर भित्र्याउन नपाउने आदेश दिएको थियो । जुन आदेशपछि विभागलाई रेडब्लुको बिक्री वितरण बन्देज गर्न बाटो खुलेको हो ।

सो ट्रेडमार्क चोरी भएको प्रमाण भएपछि रेडब्लुसँग ५ हजार जरिवाना लिएको उद्योग विभागले जनाएको छ । बजारमा उस्तै देखिने तर फरक नाम भएका रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं उपलब्ध छन् ।

रेडब्लुको बिक्रीवितरणमा बन्देज लगाइए पनि अन्यलाई भने लगाइएको छैन ।

नक्कल गरिएका ट्रेडमार्कका कारण कुन सामान नक्कली वा सक्कली हो भन्ने उपभोक्ताले छुट्याउन नसकेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।