‘पत्रकारले उत्तेजित बनाएपछि मेयरबाट प्रेसविरोधी धम्की’ : रिपोर्ट

Newslaya Home

‘पत्रकारले उत्तेजित बनाएपछि मेयरबाट प्रेसविरोधी धम्की’ : रिपोर्ट

मङ्गलबार २८, जेठ २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्कीका विषयमा छानविन गर्न बनेको मिसन टोलीले प्रतिवेदन बुझाएको छ ।

मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेले पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमलाई एक कार्यक्रमका बिच प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनको सारांश प्रस्तुत गरिएको थियो ।

सार्वजनिक गरिएको प्रतिवेदनको सारांशका अनुसार पत्रकार विराट अनुपमले मेयर चौधरीलाई उत्तेजित बनाएपछि घटना सुरु भएको उल्लेख छ । अनुपमले लेखेको फेसबुक स्टाटसमा चौधरीले कमेन्ट गरेको विषयमा फोन गरेर उत्तेजित बनाएको पाइएको उल्लेख छ ।

त्यसपछि मेयर चौधरीले असंवैधानिक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्तिहरु दिएको उल्लेख छ । रिपोर्टमा पत्रकार कृष्ण बहाव भट्टराई र विकल रेग्मीमाथिको शारीरिक हमला अभद्र र गम्भीर रहेको समेत उल्लेख छ ।
मेयर चौधरी, पत्रकार अनुपमलगायत ३० जनाभन्दा बढीसँगको कुराकानी र प्रमाणका आधारमा प्रतिवेदन बनाएको बताइएको छ । रिपोर्टमा अनुपमले पटक पटक सामाजिक सञ्जालमा धेरै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन हुने गरी अभिव्यक्ति दिने गरेको गुनासो आएकोसमेत उल्लेख छ ।

मिसन टोलीसँगको कुराकानीमा मेयर चौधरीले आफू सार्वजनिक स्थानमा गएर कान समातेर उठबस गर्नसमेत तयार रहेको बताएका छन् । प्रतिवेदनले मेयरले माफी माग्दै विज्ञप्ती प्रकाशित गरेपनि यो दोस्रो भएको र नदोहोरिने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।

घटनाको विषयमा मेयरसम्बन्धित पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक नगरेको समेत उल्लेख छ । टोलिले सार्वजनिक गरेको प्रतिवेदनमा केही सुझावहरुसमेत समावेश गरेको छ ।

मेयर चौधरी इटहरी नगरको प्रमुख जवाफदेहि व्यक्ति भएकोले पत्रकारले प्रश्न सोध्नु स्वभाविक भएपनि प्रश्न सोधेकै आधारमा उत्तेजना र दुव्र्यवहारमा उत्रिने कमजोरी सुधार्न सुझाव दिएको छ । यस्तै पत्रकारहरुले पत्रकार आचारसंहिता पालना नगर्दा समग्र पत्रकारिता क्षेत्रकै आलोचना भइरहेको उल्लेख गर्दै पत्रकारको शुद्धिकरण, आचारसंहिता पालना गराउन पत्रकार महासंघले पहल गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै अन्तर्वार्ता लिँदा वा रिपोर्टिङ गर्दा होच्याउने, अशिष्ट, अमर्यादित र पूर्वाग्रह राखेर प्रश्न नगर्नसमेत सुझाव दिएको छ । यस्तै सामाजिक सञ्जालमा जथाभावि टिप्पणी नगर्नसमेत सचेत गराएको छ ।

मिडियासम्बन्धि धेरै गुनासा आएकोले गुनासा सुनुवाई गर्न पत्रकार महासंघको जिल्ला शाखामा संयन्त्र बनाउन जोड दिइएको छ । यस्तै प्रतिवेदनले सम्बन्धित नियम कानुन र प्रेस स्वतन्त्रताको पालना गर्न गराउन दलहरुलाई अनुरोध गरेको छ ।