असार २ देखि नेपाली स्याट–१ ले पृथ्वीको परिक्रमा गर्ने

Newslaya Home

असार २ देखि नेपाली स्याट–१ ले पृथ्वीको परिक्रमा गर्ने

मङ्गलबार २८, जेठ २०७६

काठमाडौं । असार २ गतेदेखि नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आईएसएसमा रहँदै आएको त्यो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालका अनुसार नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार त्यस दिन त्यो भूउपग्रह पृथ्वीमा छाडिने भएको हो ।

नास्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम सुरु हुने र उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण नाष्टले देखाउने ढकालले बताए । त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भू–उपग्रह प्रक्षेपण हुने बताइएको छ ।

डेढ महिनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ ।