पूर्वमा पेट्रोलियम पदार्थ आपूर्ति सहज हुन सकेन

Newslaya Home

पूर्वमा पेट्रोलियम पदार्थ आपूर्ति सहज हुन सकेन

सोमबार २७, जेठ २०७६

बिर्तामोड । पूर्वमा माग अनुसार पेट्रोलियम पदार्थ आपूर्ति सहज हुन सकेको छैन ।

भारतीय भन्सार नाका पानीटेंकीमा अनलाइन बिलिङ प्रणाली लागु भएपछि चाहिएको मात्रामा नेपालमा पेट्रोलियम पदार्थका ट्यांकर आउँन नसक्दा समस्या उत्पन्न भएको हो ।

विगत एक साता भन्दा बढी समयदेखि झापा, इलाम, पाँचथर तथा ताप्लेजुङमा पेट्रोलियम पदार्थ अभाव भएको हो ।

पूर्वमा पेट्रोलियम पदार्थ पूर्ण रुपमा सहज हुन केही दिन लाग्ने नेपाल आयल निगम चारआलीले जनाएको छ ।

निगमका अनुसार अहिले दैनिक ४०,४५ ट्यांकर पेट्रोल तथा डिजेल चारआली डिपोमा भारतबाट आइरहेको छ। आयल निगमको सञ्चित गर्ने क्षमता नभएकाले बजारको माग पूरा गर्न समस्या भएको जनाइएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुखका अनुसार भारतीय भन्सारमा अनलाइन बिलिङ प्रणाली शुरु भएकाले पेट्रोलियम पदार्थका ट्यांकर भारतबाट नेपाल भित्रिन समय लागेको हो ।

चारआली डिपोबाट दैनिक करिब ३ लाख लिटर डिजेल तथा एक लाख लिटर पेट्रोल खपत हुने गरेको छ।