इटहरीका मेयरले भने, ‘म उद्धण्ड होइन, पत्रकार जगतलाई चोट पर्ने भनाई फिर्ता लिन्छु’

Newslaya Home

इटहरीका मेयरले भने, ‘म उद्धण्ड होइन, पत्रकार जगतलाई चोट पर्ने भनाई फिर्ता लिन्छु’

सोमबार २७, जेठ २०७६

इटहरी । पत्रकारहरुको विरोधपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्ना भनाईहरु फिर्ता लिएका छन् । पत्रकारलाई गाली गर्दै नाकको हड्डी भाँचिदिने धम्की दिएका मेयर चौधरीले आफू उद्धण्ड नभएको भन्दै आफ्ना भनाईहरु फिर्ता लिएको जनाएका हुन् ।

उनले विज्ञप्ती जारी गर्दै पत्रकारको फेसबुकमा गरिएको कमेन्टका विषयमा भएका फोन संवादमा व्यक्त गरेका विचारलाई फिर्ता लिएका हुन् । ती विचारहरुलाई आवेगजन्य भन्दै उनले प्रेस जगतलाई चोट पार्ने खालका विचारलाई फिर्ता लिएको उल्लेख गरेका छन् ।

उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रेसलाईसमेत परिस्किृत र परिमार्जित हुन आह्वान गरेका छन् । उनले विज्ञप्तीमार्फत् पत्रकारितालाई आन्तरिक सुद्धिकरण र शुदृढिकरण गर्नसके सञ्चार जगत्को मर्यादामा निखार आउने बताएका छन् ।

मेयर चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका थिए । सोअघि केही पत्रकारहरुलाई दुव्र्यवहार गरेका थिए । धम्कीपछि मेयर चौधरीको आलोचना भएको थियो ।

पत्रकार महासंघले माफि माग्न माग गर्दै विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

पत्रकारहरुले आलोचना गरेपनि मेयर चौधरीभने भ्रष्टाचारविरोधी अभियानका कारण आम मानिसमा लोकप्रियसमेत छन् । उनले पत्रकारहरुले आफूलाई दुःख दिएको र खेदो खनेको भन्दै अती भएपछि धम्की दिएको स्वीकार गरेका थिए ।