सुनसरीमा तीव्र गतिमा फैलिँदै डेङ्गु, यस्ता छन् लक्षण र बच्ने उपायहरु

Newslaya Home

सुनसरीमा तीव्र गतिमा फैलिँदै डेङ्गु, यस्ता छन् लक्षण र बच्ने उपायहरु

शुक्रबार २४, जेठ २०७६

इटहरी । धरानमा दर्जनौं मानिस डेङ्गुका कारण बिरामी भएका छन् । इटहरीमा पनि दुई जनालाई डेंगु देखिएको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ ।

धरानमा डेंगु नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले संकटग्रस्त क्षेत्र घोषणा गरेरै अभियान थालेपनि नियन्त्रणमा आउन सकेको छैन । बरु छिमेकी नगर इटहरीमा पनि डेंगु देखिन थालेको छ । इटहरीले डेंगु नियन्त्रणको लागि विभिन्न वडाको पानी संकलन गरि परिक्षण थालेको छ भने चेतनामुलक कार्यक्रमहरुसमेत अघि बढाएको कार्यवाहक मेयर लक्ष्मी गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

यस्ता छन् लक्षण :
डेंगु हुँदा एक्कासी चर्को ज्वरो आउँछ । जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्‍ने हुन्छ।

कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ। यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत बग्छ ।

यो अरु ज्वरो जस्तै हुने भएकोले महामारी फैलिएको बेलामा ज्वरो आउँदा लापरवाही गर्न हुँदैन । तत्कालै जचाउन गइहाल्नुपर्छ ।

चिकित्सकका अनुसार बिरामीको शरीरमा रक्तकोषिकाको कमीसँगै प्लेटलेट कमी भएपछि आन्तरिक र बाह्य रक्तश्राव हुन्छ।

जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अङ्गमा रगत कम हुन्छ र अङ्गहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर एक प्रतिशत बिरामीको ज्यान जान्छ।

सामान्य अवस्थाका बिरामीहरू अधिकांश बिस्तारै डेङ्गी ज्वरोबाट आफै निको पनि हुन सक्छन्।

डेङ्गी भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा बिरामीले खानु पर्छ।

सावधानीको उपायहरु :
यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नु पर्छ ।

बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ।

घर भित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनु पर्छ ।

औषधि छर्की सकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नुपर्छ ।

‘लामखुट्टेसँगै यसको प्रजनन गर्ने कार्य रोक्नुपर्छ । कसैको दिउँसो सुत्ने बानी भए पनि झुल प्रयोग गर्नुपर्छ । घरका झ्यालढोकामा जाली राख्नुपर्छ ।’