धरानका १५ र ८ नं. वडा डेंगु संकटग्रस्त क्षेत्र घोषणा

Newslaya Home

धरानका १५ र ८ नं. वडा डेंगु संकटग्रस्त क्षेत्र घोषणा

बिहीबार २३, जेठ २०७६

धरान । गत वैशाख ३१ गते देखि धरानमा फैलिएको डेंगुको संक्रमण दिनानुदिन बढ्दै गए पछि बढी प्रभावित क्षेत्रलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

डेंगुको संक्रमण शुरु भएको धरानको १५ नम्बर वडा र ८ नम्बरलाई डेंगु संकट ग्रस्त क्षेत्र घोषणा गरिएको हो । डेंगुको संक्रमण यी वडाहरुमा बढी देखिएकाले दुई वडालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । डेंगुको संक्रमण दिनहुँ बढ्दै गए पछि संकटग्रस्त क्षेत्र घोषणा गर्दै नियन्त्रणका लागि अभियान संचालन गरेको छ ।

गत वैशाख ३१ गते देखि धरानमा डेंगुको संक्रमण देखिन थालेको हो । हाल सम्म करिब २ सय जनालाई डेंगुको संक्रमाण देखिएको छ भने ४ सय भन्दा बढीले डेंगुको परिक्षण गराईसकेका छन् ।

धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ दिनमा करिब २ सय जनामा डेंगुको संक्रमण देखिएको छ । दिनहुँ बढ्दै गएको डेंगुको संक्रमणले स्थानीयवासीनै आतंकित बनेका छन् । डेंगुको आतंकले अस्पतालमा समेत विरामीको चाप वढ्न थालेको छ ।

डेंगुको प्रकोप बढ्न थाले पछि धरान उपमहानगरपालिकाले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा ¥यापिड रेस्पोन्स टिम बनाएर डेंगु नियन्त्रणको अभियान शुरु गरेको छ । धरानको वडा नम्बर १५ र ८ नम्बर वडाका अधिकांश घरहरुमा डेंगु सार्ने लामखुट्टेको अण्डा, लार्भाहरु भेटिएको छ । घर वरिपरी र घर भित्रनै पनि खुल्ला राखिएका पानीका बोतल, सफा पानी जमेको स्थानहरुमा डेंगुको लार्भा, अण्डाहरु भेटिएका छन् ।

डेंगुका विरामीहरुलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गर्न माग गर्दे पत्रचार गर्ने निर्णय गर्नुका साथै प्रतिष्ठानमा हेल्प डेक्सको पनि स्थापना गरेको छ । प्रतिष्ठानमा ४ सय ४२ जनाले स्वास्थ्य परिक्षण गराई सकेका छन् । डेंगु नियन्त्रण बाहिर गए पछि जनमानसमा त्रास फैलिएको छ । डेंगुको त्रास फैलिए संगै सामान्य ज्वरो आए पनि बिरामीहरु वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने गरेका छन् । जसका कारण प्रतिष्ठानमा भिड हुने गरेको प्रतिष्ठानकी डाक्टर ज्योति राणाले बताईन् । उनका अनुसार दैनिक सयौंको संख्यामा सामान्य ज्वरो आउँदा पनि आपतकालिन कक्षमै आउने गरेका छन् ।

धरानमा डेंगुको प्रकोप बढ्दै गए पछि प्रदेश नम्बर १ को सामाजिक विकाश समितीको टोलिले अध्ययन र अवलोकन गरेको छ । समितीका सभापति सरिता खड्काको टोलिले विरामीहरुको अवश्थाबारे जानकारी लिदै निशुल्क उपचार र आवश्यक सहयोगको प्रतिबद्धता जनाएको छ ।
प्रत्येक वडा कार्यालयहरुले वडामा पनि जनपरिचालन गरेर लामखुट्टेको अण्डा र लार्भा मार्ने अभियान शुरु गरेको छ । तर नियन्त्रण बाहिर गएकाले महामारीको रुप लिनसक्ने अनुमान गरिएको छ ।