प्रदेश १ को बुढीगंगामा डोरीतान प्रतियोगिता हुँदै

Newslaya Home

प्रदेश १ को बुढीगंगामा डोरीतान प्रतियोगिता हुँदै

बिहीबार २३, जेठ २०७६

विराटनगर । प्रदेश १ मा पहिलो पटक सरकारी लगानीमा डोरी तान प्रतियोगिता हुने भएको छ । एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नेपालमै पहिलो पटक सरकारी लगानीबाट प्रतियोगिता गराउन लागेको हो ।

जेठ २५ गते शनिवार हुने प्रतियोगितामा ८ जिल्लाका ८८ जना खेलाडीहरुको सहभागीता रहने जानकारी दिइएको छ । मोरङ जिल्ला डोरी तान संघकी अध्यक्ष रीता न्यौपानेले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएकी छन् ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, पाँचथर, सोलुखुम्बु,, संखुवासभा, धनकुटा र भोजपुर जिल्ला सहभागि हुने न्यौपानेले जानकारी दिएकी छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १मा रहेको नरग्राम माध्यामिक बिद्यालयको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिइएको छ ।

पुरानो खेल मध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकता सँग जोडिएको खेल भएको जानकारी दिँदै नेपाल डेरी तान संघका केन्द्रीय उपाध्यक्ष सुभाषश्री पोखरेलले राष्ट्रिय खेलकुद परिषदको वेवास्ताको कारण ओझेललमा परेको बताएका छन् ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार ६४० केजीको वेटमा प्रतियोगिता हुने जनाइएको छ । हरेक टिममा ८ जना खेलाडीका दरले प्रतियोगितामा प्रतिस्पर्धामा उत्रिने छन् ।

विजेता हुने टिमले ५० हजार, उपबिजताले २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने तेश्रो हुने टिमले १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईने डोरीतान संघ बुढीगंगाका अध्यक्ष असोक अधिकारीले जानकारी दिएका छन् ।