किराँत प्रदेश घोषणा गर्ने विषयमा मुख्ममन्त्री राई र नेकपा अध्यक्ष प्रचण्ड यसरी पन्छिए

Newslaya Home

किराँत प्रदेश घोषणा गर्ने विषयमा मुख्ममन्त्री राई र नेकपा अध्यक्ष प्रचण्ड यसरी पन्छिए

शनिबार १८, जेठ २०७६

धरान । प्रदेश नं. १ को नाम ‘किरात प्रदेश’ राख्नुपर्छ भनेर पूर्व क्षेत्रका राई लिम्बु समुदाय एक छन् । तर प्रदेशको नामाकरण गर्ने अधिकार पाएको प्रदेश सरकारले अहिलेसम्म कुनै नाम जुराउन सकेकोछैन ।

किराँत शब्दलाई प्रदेशको नाममा मिसाउनुपर्छ भन्ने पक्षमा मुख्यमन्त्री शेरधन राई आफै छन् भन्ने गाईँगुईँ हल्लासमेत सुनिन्छ । तर अर्कोतर्फ नामाकरण र सीमांकनको लागि प्रदेश सांसदहरुलाई पार्टीको ह्वीपसमेत जारी भएका समाचारहरु आइरहेका छन् ।

त्यसै बिचमा धरानमा शनिबार आयोजित एउटा कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल दुवै नामाकरणको सवालमा पन्छिएका छन् ।

शनिबार किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले धरानमा आयोजना गरेको साकेला शिली प्रदर्शनी कार्यक्रममा बोल्दै दुवै नेताले प्रदेशको नामाकरण आफ्नो मात्र अधिकारको कुरा नभएको भन्दै पन्छिएका छन् । जसबाट किराँत प्रदेश नामाकरणको पक्षमा दुवै नेताले बोल्छन् भनेर आश गर्ने आयोजकहरु निराश बनेका छन् ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरणका विषयमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्माओली समेत निर्णायक रहने बताए । उनले मन्चबाटै यस्तो कुरा गरेपछि मन्चमा आसिन नेकपाका अध्यक्ष प्रचण्डलाई सकस परेको थियो ।

तर उनी पनि के कम, प्रदेशको नामाकरण गर्ने विषयमा आफूहरुले ह्वीप नलगाउने बताइदिए । ‘ह्विप लाएर यही गर भन्न हुँदैन भनेर हामीबिच समझदारी भएको छ,’ उनले भने । उनले किराँत समुदायले किराँत प्रदेश माग्नु जायज भएको बताएका थिए ।