‘पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय फोरमहरुलाई उपयोग गर्न सकेका रहेनछौं’

Newslaya Home

‘पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय फोरमहरुलाई उपयोग गर्न सकेका रहेनछौं’

आइतबार १२, जेठ २०७६

सुनिल भुषाल प्रिमियर ग्रुपका सिइओ हुन् । प्रिमियर ग्रुपले होटल मेनेजमेन्टसम्बन्धि कलेज, होटल, ब्यांक्वेट लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको छ । पर्यटनमा गहिरो चासो राख्ने भुषाल केही समयअघि स्वीट्जरल्याण्डमा भएको पर्यटनसम्बन्धि फेयरमा सहभागि भए । उनीसँग उक्त कार्यक्रमको विषयमा अनुभव र नेपालले सिक्न सक्ने विषयहरुका सम्बन्धमा गरिएको छोटो कुराकानी :

यहाँले भर्खरै स्वीट्जरल्याण्डमा भएको वल्र्ड टुरिजम फेयरमा सहभागिता जनाउनुभयो, यो कस्तो फेयर हो ?
यो फेयर पर्यटनलाई प्राथमिकता दिइरहेका देशहरुको लागि महत्वपूर्ण कार्यक्रम थियो । विश्वमा पर्यटनको लागि काम गर्ने संस्था, पढाउने विश्वविद्यालय, विश्व बजारमा ख्यातीप्राप्त कम्पनिका सिइओहरु र युवा पुस्ताहरु कार्यक्रममा सहभागि थिए ।
विभिन्न दर्जन बढी देशका पर्यटन मन्त्री, ६० जना बढी राजदुत सहभागि थिए । त्यहाँ सहभागि सबैले पर्यटनको सम्भावना, लगानी र नयाँ आइडियाको विषयमा छलफल गरे । राम्रो परियोजना र प्रस्तावमा तत्काल लगानीसमेत जुट्यो ।
समग्रमा यो कार्यक्रम पर्यटनका नयाँ आयाम खोज्ने, लगानी गर्ने, जुटाउने कार्यमा लक्षित थियो ।

त्यहाँ के विषयमा छलफल भयो, विश्वको पर्यटन परिदृष्य कस्तो देखियो ?
हामी गफ मात्र गर्छौं, मुभमेन्ट गर्दैनौं । तर पर्यटनको लागि गर्न सकिने धेरै रहेछ । साना साना काममा टुरिजम जोडिएको हुन्छ र तिनलाई प्रबद्र्धन गर्नुपर्छ भन्ने बुझाइ उक्त फेयरमा सहभागि राष्ट्रका प्रतिनिधिहरुमा पाएँ । हामी कुनै होटलमा जाँदा वाइफाइ छ भनेर सोध्ने चलन छ । रुम सफा छ भनेर हेर्ने चलन छ । तर अब त्यो आम हुनुपर्छ । बरु होटलमा हेल्थ केयर र इमर्जेन्सी प्लान आदि सुविधा थपिनुपर्छ र ग्राहकहरुले पनि त्यो नयाँ सुविधा खोज्ने वातावरण बन्नुपर्छ ।
त्योसँगै गन्तव्यलाई कसरी प्रमोट गर्ने भन्ने आइडिया सिक्न आवश्यक छ । जस्तो दुबईको रसलखुना भन्ने ठाउँमा उनीहरुले डेजर्ट माउन्टेनमा पिल्लर गाडेर ६ किमि जति जिप फ्लायर बनाएर दैनिक हजारौंलाई मनोरञ्जन गराइरहेका छन् ।
त्यसका साथै काम गर्ने जनशक्ति पनि दक्ष हुनुपर्छ । र दक्षतासहितको शिक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा पनि विज्ञहरुले धारणा राखेका थिए । केही युवाहरुले आफ्नो नवीन आइडिया प्रस्तुत गरे, जसमा लगानी पनि जुट्यो ।

त्यो फोरममा सहभागिहरुले आइडिया बेचेर लगानी पनि भित्राए ?
हामी त्यहाँ अब्जर्भरको रुपमा गएका थियौं । कुनै प्रोजेक्ट लिएर गएका थिएनौं । तर अरु देशका युवाहरुले प्रस्तुत गरेका प्रोजेक्टहरु हेर्यौं । त्यहाँ विश्वका विभिन्न ठाउँका युवाहरुलाई इनोभेटिभ आइडिया ल्याउन लगाउने, फोरममा प्रेजेन्ट गर्ने र प्रोजेक्ट मन पर्यो भने त्यहीँ लगानी घोषणा गर्नेसम्मका कार्यक्रम हुँदो रहेछ । केही युवाहरुले युरोपमा रेलको कन्सेप्ट ल्याए, इन्डोनेसियामा युवाहरुले समुद्र सफा गर्ने योजना ल्याए । ती योजनाहरुमा लगानी पनि जुट्यो ।
त्यो देख्दा नेपालमा पर्यटनका विभिन्न सम्भावनाहरुलाई बेचेर देशमा लगानी भित्राउन सक्थ्यौं भन्ने कुरा मनमा लागिरह्यो । उक्त कार्यक्रममा नेपालबाट आधिकारीक सहभागिता जनाएर योजना प्रस्तुत गर्न सकेको भए, नेपाललाई धेरै फाइदा हुन्थ्यो । तै पनि प्रोजेक्ट बनाएर पठाउनुहोस्, हामी हेर्छौं भन्नेसम्मका कुरा गरेका छन् ।

त्यो फोरममा नेपालले आधिकारीक सहभागिता जनाएन, नेपाललाई के घाटा भयो ?
मलाई अचम्म लाग्छ कि त्यस्तो महत्वपूर्ण कार्यक्रममा नेपाल जस्तो पर्यटनको सम्भावना भएको देशबाट सहभागिता थिएन । हरेक देशका पर्यटनका मन्त्री, बोर्डका मानिसहरुले त्यहाँ प्रतिनिधित्व गरेका थिए । भारतबाटै पनि ठूलो समुह पुगेको थियो । तर नेपाल सरकारका कुनै मानिस पुगेका थिएनन् ।
त्यो कार्यक्रममा प्रस्तुत आइडियालाई प्रयोग गर्ने हो भने पनि नेपालको पर्यटन प्रबद्र्धनमा केही मद्धत पुग्थ्यो । नेपाल आफैले पनि प्रोजेक्ट बनाएर प्रस्ताव गरेको भए त्यहाँ सहभागि विभिन्न देशका प्रतिनिधि र ठूला लगानीकर्ताहरुले लगानी गर्ने वातावरण बन्थ्यो । हामीले पर्यटन विकासको लागि संसारका राम्रा अवसरहरुलाई उपयोग गर्न सकेका रहेनछौं भन्ने अनुभव भयो ।

त्यहाँ सहभागि विभिन्न देशका प्रतिनिधिहरुसँग नेपालको विषयमा केही कुरा गर्नुभयो ? कस्तो बुझाइ रहेछ नेपालको बारेमा ?
नेपाल राम्रो सुन्दर देश हो भन्ने थाहा रहेछ । तर विकास धेरै हुन नसकेको ठाउँ हो भन्ने बुझेका छन् । नेताहरु राम्रा छन् तर देशको लागि काम गर्दैनन् भन्ने कुरा गरे । मेहेनत गर्दा नेपाल स्वीट्जरल्याण्ड बन्न सक्छ भन्ने सम्मको बुझाइ भएका मानिस पाएँ । ओमानका एक प्रतिनिधिले त झन् नेपालीहरु हाम्रो देशमा इन्जिनियरको रुपमा काम गरिरहेका छन् भनेर प्रसंसा नै गरीन् । वास्तवमा त्यहाँ गएर नेपालले श्रमिकको रुपमा काम गरेपनि त्यहाँ श्रमलाई गर्ने सम्मानको उदाहरण हो यो ।

आगामी दिनमा यस्तो फोरमलाई नेपाल सरकारले कसरी उपयोग गर्नुपर्छ अनि त्यो कार्यक्रमबाट के सिक्नुपर्छ ?
नेपाल सरकारले पनि पर्यटनको इनोभेसन फोरम बनाउनुपर्यो । युवाहरुलाई उनीहरुको आइडिया शेयर गर्न लगाउनुपर्यो । त्यहाँ ख्यातीप्राप्त लगानीकर्तालाई पनि बोलाउनु पर्यो । राम्रो आइडियालाई लगानी गर्ने गरी कार्यक्रम गर्नुपर्यो । यो कार्यक्रम प्रदेश र केन्द्रिय स्तरबाट गर्न सकिन्छ । पर्यटनको विषयमा बहस हुन जरुरी छ । सानो प्रोजेक्ट त यहीँकै लगानीकर्ताले पनि लगानी गर्न सक्छन् । खासमा प्रोडक्ट राम्रो भयो भने लगानीकर्ता आफै आउँछन् । हामीले प्रोडक्टमुखी योजनाहरु निर्माण गर्न सक्नुपर्छ ।
अनि अन्तर्राष्ट्रिय फोरमहरुलाई चाहिँ प्रयोग गर्न सक्नुपर्छ । मलाई सबैभन्दा धेरै अचम्म त तब लाग्यो, जब संसारका अर्बपतिहरु, विभिन्न देशका मन्त्रीहरु कार्यक्रममा पुरै समय सहभागि भए । उनीहरुले युवाहरुको इनोभेटिभ आइडिया र विभिन्न प्रोजेक्टमाथिको प्रस्तुती दिनभरी हेरेर बसे । जबकी नेपालका मन्त्रीहरु युवाको कुरा आधा घण्टा सुन्ने धैर्यता राख्दैनन्, तर त्यहाँ दिनभरी हेरेर बसे । यस्ता कुरा हामीले सिक्नुपर्छ ।