पाँचथरमा २५ वर्षअघि पनि भएको थियो सामूहिक हत्या

Newslaya Home

पाँचथरमा २५ वर्षअघि पनि भएको थियो सामूहिक हत्या

बुधबार ०८, जेठ २०७६

फिदिम । दुई परिवारका नौ जनाको हत्या भएको पाँचथरमा २५ बर्ष अघि पनि यस्तै सामूहिक हत्या भएको बताइएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका ९ जनाको हत्या गरी हत्याराको आशंका गरिएका व्यक्ति पनि मंगलबार रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पाँचथरको साविकको लुम्रुपा गाविस ९ टिम्बुरेमा २०५० साल वैशाखमा दुलाल परिवारका पाँच सदस्यको यसरी नै सामुहिक हत्या गरिएको बताइएको छ ।

रातको समयमा घरमुली कुवेर दुलाल, आमा सरस्वती रिजाल, वहिनी कृष्ण दुलालसँगै भाइहरु उमेश र उद्वव दुलाल गरी ५ जनाको घारिलो हतियार प्रहार गरी हत्या गरेको थियो ।

दुलालका दुई छोरी ज्ञानु र मनु दुलाल भने मावली गएकाले जोगिएका थिए ।

मनु नांगिनको पिपलवोटे उच्च माविमा पढ्थिन भने ज्ञानु इटहरीस्थित आफन्तको घर गएकी थिइन् ।

लामो अनुसन्धानपछि कुवेरका दाजु नाता पर्ने छिमेकी ओमनाथ दुलालसहित ८ जनालाई समातिएको थियो ।

समातिएकामध्ये ७ जनाले ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउन लगाएको बयान दिएका थिए भने ओमनाथले पुरानो इगोका कारण हत्या गरेको स्वीकारेका थिए ।