पाँचथर हत्याकाण्ड : झुण्डिएको अवस्थमा भेटिएका मानबहादुरले ३ बजे पैसा मागे, ३ः०५ मा फोन स्वीचअफ

Newslaya Home

पाँचथर हत्याकाण्ड : झुण्डिएको अवस्थमा भेटिएका मानबहादुरले ३ बजे पैसा मागे, ३ः०५ मा फोन स्वीचअफ

मङ्गलबार ०७, जेठ २०७६

काठमाडौ । प्रहरीले पाँचथरको मिक्लाजुङमा सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ ।

झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिमको शव नजिकै रगतले लतपतिएको खुकुरी, दाप र रगत लागेको कपडासहित झोला फेला पारेको हो ।

मानबहादुर हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । उनले मंगलबार बिहान ३ बजेतिर इमरजेन्सीमा उपचारका लागि जानुपर्‍यो भन्दै पैसा मागेको खुलेको छ ।

पैसाको लागि फोन गरे लगत्तै माखिमको मोबाइल स्वीचअफ भएको थियो । मंगलबार बिहान ३ बजेर ५ मिनेटमा स्विच अफ भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्विच अफ गरिएको मोबाइल फोन सेट उनको शव नजिकै भेटिएको छ । त्योभन्दा अघि उनले दुईजना गाँउलेलाई फोन गरेको र नगद रकम मागेका थिए ।

परिवारभित्रको कहल हत्याको कारण हुनसक्ने आधारमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनास्थल, हतियार र मृतक सबैको फरेन्सिक जाँचपछि मात्र यकिन गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा भाग्न सफल सीता खजुमको बयानका आधारमा घटनामा संलग्नको स्केच बनाएर अनुसन्धान थालेको छ । स्केच माखिमको शवसँग मिल्दोजुल्दो छ।

हत्याकाण्डको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसएसपी शरद खत्रीको नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा परिचालन भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार फरेन्सिक सहितको टोलीले घेराबन्दी गरिएर राखिएको घटनास्थलको थप अनुसन्धान र प्रमाण संकलन गर्नेछ । यस्तै केन्द्रीय अनुसन्धान ब्युरोका एसपी उमाप्रसाद चर्तुवेदीको नेतृत्वको अर्को टोली परिचालन भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा गएराति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या भएको हो ।

मानबहादुरकी श्रीमती केही समयदेखि माइत बस्दै आएकी थिइन् । माखिम र श्रीमतीबीच सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको थियो ।