इटहरीमा व्यवशायीको चुनाव, भोट बैंकको जोडघटाउले लफडा

Newslaya Home

इटहरीमा व्यवशायीको चुनाव, भोट बैंकको जोडघटाउले लफडा

मङ्गलबार ०७, जेठ २०७६

इटहरी । आगामी असार १४ गते उद्योग वाणिज्य संघ इटहरीको चुनाव हुँदैछ । यतिखेर फर्म नविकरण तथा नयाँ दर्ता धमाधम भइरहेको छ ।

जेठ १० गतेसम्म दर्ता तथा नवीकरण भएका फर्मले भोट हाल्न पाउने नियम बनाइएको छ । जसको कारण यतिखेर चुनावी प्रतिष्पर्धामा देखिएका दुई वटा प्यानलका व्यवशायीहरु आफ्नो पक्षका व्यवशायीहरुको फर्म दर्ता तथा नवीकरणमा जोड तोडका साथ लागिपरेका छन् ।

तर व्यवशायी स्वविवेकले दर्ता तथा नवीकरण गर्नुपर्ने फर्ममा व्यापारी उम्मेदवारहरुले प्रभाव पारिरहेका छन् । आफ्नो भोट बैंक बढाउन गैह्र व्यापारीहरुलाई पनि फर्म दर्ता गराएर सदस्य बनाइएको आरोप प्रत्यारोपमा दुवै पक्ष लागेका छन् ।

चुनावी मैदानमा यतिखेर नेकपा समर्थित व्यवशायी शैलेश विष्ट र नेपाली काँग्रेस समर्थित भीम पौडेल नेतृत्वमा व्यवशायीहरु चुनावी मैदानमा उत्रिने तरखर गर्दैछन् । यस बिचमा आफ्नो भोटसंख्या बढाउन पाए जितिने विश्वासले दुवै पक्ष व्यापारीहरुलाई पान दर्ता तथा नवीकरण गर्न लबिङ गरिरहेको छ । यस बिचमा कतिपय ठाउँमा गैह्र व्यवशायीलाई व्यवशायी बनाएर पान नम्बर लिएको गुनासोले विवादको रुप समेत लिन थालेको छ ।

केही समयअघि व्यवशायी आफै उपस्थित नभई अन्दधुन्ध फर्म नवीकरण गरिएको भन्दै भीम पौडेल समर्थित व्यापारीहरुले उद्योग वाणिज्य संघमा गएर हल्लीखल्ली गरेका थिए ।

मंगलबार भने संघको नेतृत्व सम्हालीरहेको शैलेश विष्ट पक्षधरले केही बेर नविकरण तथा नयाँ ब्यवसाय दर्तामा रोक लगाएपछि निर्धारित मितिसम्म नवीकरण र दर्ता हुनुपर्ने माग गर्दै व्यवशायीहरुले विरोध जनाएका छन् ।

प्रकृया पुर्याएर आएका ब्यवसायीहरुलाई दर्तामा रोक लगाउन नहुने माग गर्दै व्यवशायीले विरोध गरेका थिए । पौडेल पक्षधरले इटहरी बाहिरका व्यक्तिहरुलाई इटहरीमा व्यवशायी बनाएर सदस्यता दिलाएको आरोप विष्ट पक्षको छ ।

तर इटहरी बाहिरका ब्यवसायीहरुले पनि इटहरीमा ब्यवसाय गर्न पाउने भएकाले सबै ब्यापारीले दर्ता हुन पाउनु पर्ने माग पौडेल पक्षका व्यवसायीको छ ।

इटहरी उपमहानगरपालिका, आन्तरीक राजश्व विभाग र स्वयम आफै उद्योग बाणिज्य संघले परिक्षण गरि व्यवशाय दर्ता गराउने भएकाले गैर ब्यवसायी दर्ता हुने सम्भावना नहुने पौडेल पक्षका व्यवशायी दिवस पोख्रेलले बताए ।

यता अध्यक्षका प्रत्यासी तथा वर्तमान कार्यवाहक अध्यक्ष शैलेश विष्ट भने भोट हाल्नैका लागि कागजी व्यवसायी बनेका धेरै फर्म दर्ता भएको जिकिर गर्छन् ।

चुनाव हार र जितको हिसाबबाट प्रेरित भएर गरिएका कामहरुले अन्य व्यवशायीहरु भने अलमलमा परेका छन् । संसदीय चुनावमा भोट बैंक किन्ने, मतपेटीका कब्जा गर्नेसम्मका गतिविधि हुन्छन् । राजनीतिक र आर्थिक रुपले चेतनशील मानिएका व्यवशायीहरुको चुनावमा पनि सोही प्रकारका गतिविधि भइरहेको भन्दै नगरवासीले भने चिन्ता व्यक्त गर्न थालेका छन् ।