सप्तकोसी उच्च बाँधका कारण कोसी करिडोर अलपत्र

Newslaya Home

सप्तकोसी उच्च बाँधका कारण कोसी करिडोर अलपत्र

मङ्गलबार ०७, जेठ २०७६

उदयपुर । मध्यपहाडी लोकमार्गसँग जोडिने कोसी करिडोरको नामले परिचित उदयपुरको–घुर्मी–चतरा सडकको काम रोकिएको नौ वर्ष भयो । कहिले अघि बढ्ने हो टुंगो छैन ।
कारण हो, सप्तकोसी उच्च बाँध ।

उदयपुरको कटारी नगरपालिकाको घुर्मीबजारदेखि उदयपुरकै बेलका नगरपालिका र सुनसरीको चतरा जोडिने सडकको काम अलपत्र छ । सडक सर्भे गर्दा वातावरण प्रभाव मूल्यांकन (इआइए) अध्ययन नगरेको भन्दै वन कार्यालय रोकेपछि ट्रयाक खोल्न सुरु भएको काम नौ वर्षसम्म सुरु हुन नसकेको बताइएको छ ।

९ वर्षमा जम्मा १० किलोमिटर मात्र ट्रयाक खोलिएको छ ।

२०६७ सालमा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खोल्न सुरु गरेका थिए । पछि वन कार्यालयले इआइए गरेर काम अघि बढाउन सरकारी प्रक्रिया टुङ्ग्याएको थियो ।

कोसी करिडोरले उदयपुरको बेलका, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाँउपालिकाका सर्वसाधरणलाई सुविधा पु¥याउने छ । यस्तै, यो सडक खोटाङ, सोलुखम्बु, ओखलढुङ्गालाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने छोटो दूरीको सडक हो ।

सुनसरी, धनकुटा, भोजपुरलगायतका पूर्वी नेपाललाई काठमाडौं जोड्ने छोटो दूरीको सडक पनि पर्ने भएकाले रोकिएको काम सुरु गराउन प्रदेश र संघीय सरकारकारले जनप्रतिनिधिले पटक पटक माग गर्दै आएको ताप्ली गाँउपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए ।

पछि निर्माण सुरु भएर रोकिएको काम पुनः सुरु गराउन लागिपरे पनि संघीय सरकारले सप्ताकोसी उच्च बाँधको कारण रोकिएको बताएको ताप्ली गाँउपालिका अध्यक्ष थापाको भनाइ छ । उच्च बाँध मुख्य कारण सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाको कारण पनि कोसी करिडोर रोकिएको जानकारहरुको भनाइ छ ।

कोशी उच्च बाँधको लागि सन् २००४ देखि डिपिआर हुँदैछ । जुन डिपिआरमा सुनकोसी क्षेत्रका प्रभावित हुनेछ । जसअन्तर्गत सप्तकोसीमा २६९ मिटर अग्लो बाँध बनाउन सप्तकोसी पुरै थुनिन्छ । पूर्वी नेपालका कोसी क्षेत्रका १० जिल्लाका करिब साविकका ७० वटा गाविस प्रभावित हुने भएपछि उक्त उच्च बाँधको विरोधसमेत हुने गरेको छ ।