पाँचथर हत्याकाण्डः भयावह घटनास्थलको फोटो खिच्न बन्देज

Newslaya Home

पाँचथर हत्याकाण्डः भयावह घटनास्थलको फोटो खिच्न बन्देज

मङ्गलबार ०७, जेठ २०७६

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का दुई परिवारका ९ जनाको हत्या भएपछि गाउँ नै शोकमा डुबेको छ ।

सोमबार राति आरुबोटेका दुई घरमा नौ जनाको विभत्स हत्या भएको हो । मिक्लाजुङ गाउँपाकिलाका अध्यक्ष अमरराज माखिमले आफूहरुले बिहान ६ बजेतिर घटनाबारे जानकारी पाएको बताए ।

घटनास्थलमा रहेका गाउँपालिका अध्यक्ष माखिमले भने ‘ज्वाईँको घरमा पाँचजनाको र सुसुराको घरमा चारजनाको हत्या भएको हो । पाँचजनाको शव एकै ठाउँमा थुप्रो लगाएको अवस्थामा छ ।’

उनले घटनास्थलको अवस्थाबारे बताए, ‘शवहरु विभत्स छन् । कोहीको टाउको छैन । अनुहार चिन्न सकिने अवस्था छैन । कोहीको शरीरका विभिन्न भाग छुट्टिएका छन् । डर लाग्दो छ अवस्था ।’

चारजनाको हत्या भएको घरमा एकजनाको शव घर बाहिर र अरु तीनजनाको शव घर भित्र रहेको उनले जानकारी दिए । घटना निकै भयावह र डरलाग्दो भएकाले आफूहरुले घटनास्थलको तस्बिर खिच्न रोक लगाएको उनले जानकारी दिए ।