पाँचथर हत्याकाण्ड : कसैको टाउको छैन कसैको हातखुट्टा

Newslaya Home

पाँचथर हत्याकाण्ड : कसैको टाउको छैन कसैको हातखुट्टा

मङ्गलबार ०७, जेठ २०७६

फिदिम । प्रहरीले पाँचथरमा दुई परिवारको नरसंहार गरिएका घटनाको अनुसन्धान सुरु गरेको छ ।

दुई परिवारका ९ जनाको क्रुरतापूर्वक हत्या भएपछि अहिले पाँचथरमा पूर्व क्षेत्रका प्रहरी अधिकारीहरु पुगेका छन् । स्थानिय मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे गाउँमा राती सुतिरहेको परिवारलाई नकावधारीको समुहले खुकुरीले काटेको थियो ।

घटनास्थलको अवस्था अत्यन्त विभत्स रहेको स्थानियले जनाएका छन् । ज्वाईँको घरमा पाँचजनाको र सुसुराको घरमा चारजनाको हत्या भएको हो । पाँचजनाको शव एकै ठाउँमा थुप्रो लगाएर राखिएको भेटिएको थियो ।

सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।

गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले खसीबोका काटेजसरी मान्छे काटिएको बताएका छन् । ‘कोहीको टाउको छैन । कोहीको हात खुट्टा छिनेका छन्, चिन्न सकिने अवस्थामा कतिपय शव छैन ।’

चारजनाको हत्या भएको घरमा एकजनाको शव घर बाहिर र अरु तीनजनाको शव घर भित्र रहेको छ । निकै भयावह भएकोले घटनास्थलको फोटो खिँच्न रोक लगाइएको छ ।

दुई घरबिचको दूरी पैदल हिँड्दा १५ मिनेट लाग्छ ।

भागेर ज्यान जोगाउन सफल भएकी १२ वर्षकी सीता खजुमलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

घटनामा धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चारजनाको हत्या भएको हो । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।