कसरी गाउने राष्ट्रिय गान ? यस्तो छ नियम

Newslaya Home

कसरी गाउने राष्ट्रिय गान ? यस्तो छ नियम

मङ्गलबार ०७, जेठ २०७६

राष्ट्रिय गान कसरी गाउने वा कसरी प्रयोग गर्ने भन्ने विषयमा धेरै अन्योल देखिन्छ । खासगरी उठेर सतर्क अवस्थामा गाउनुपर्छ भन्ने विषयमा सबैलाई थाहा भएपनि सो अवस्थामा हातको पोजिसन के हुने भन्ने अन्योल धेरैतिर छ ।

त्यसैले कसैले हातलाई अगाडी ल्याएर जोड्छन् त कसैले सिधा तनक्क पारेर उभिन्छन् । कसैले छातीमा समेत राख्छन् ।

तर वास्तवमा सतर्क रहेर शिर ठाडो पारी राष्ट्रिय गान गाउने भन्ने मात्र नियम छ । सोबाहेक अन्य नियम छैन ।

राष्ट्रिय गानको प्रयोगको लागि राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ बनाइएको छ । राष्ट्रिय झन्डाको प्रयोग कसरी गर्ने भन्ने सँगै राष्ट्रिय गान कसरी गाउने भन्ने नियमहरु त्यसभित्र राखिएको छ । दफा १४ मा चार वटा उपदफामा राष्ट्रिय गान कसरी गाउने र कसरी सम्मान व्यक्त गर्ने भन्ने कुरा लेखिएको छ । जुन यस्तो छः

राष्ट्रिय गानको प्रयोगको समय र विधिः
(१) औपचारिक तथा विशेष समारोह र नेपाल सरकारका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ संस्था तथा राजदूतावासहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान वा धुन बज्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, प्रधान न्यायाधीश तथा अन्य पदाधिकारीहरू लागयत सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनु पर्नेछ । सुरक्षा निकायका राष्ट्रसेवकहरुले विभागीय प्रचलन अनुसार राष्ट्रिय धुन बज्दा उचित सम्मान प्रकट गर्नु पर्नेछ ।
(२) कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनु पर्नेछ । रेडियो र टेलिभिजनमा सम्पूर्ण कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनु पर्नेछ । राष्ट्रिय गान अवधिभर सबैलाई उभिन अनिवार्य रूपले अनुरोध गर्नु पर्नेछ । सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनको क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनको समयमा राष्ट्रिय गान तथा धुन बजाए वा गाएमा उपदफा (१) बमोजिमसम्मान गर्नु पर्नेछ ।

(३) विभिन्न राष्ट्रिय दिवसहरूमा सम्मान अर्पण गर्दा र अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूलाई राजकीय सम्मानका साथ अन्तिम सलामी प्रदान गर्दाको समयमा राष्ट्रिय धुन बजाउँदा उपदफा (१) बमोजिम सम्मान गर्नु पर्नेछ ।
(४) व्यक्तिगत रूपमा सार्वजनिक स्थलहरूमा यात्रा गर्दाको समयमा कुनै पनि माध्यमबाट राष्ट्रिय गान तथा धुन बजाए वा गाएका अवस्थामा बाहेक विभिन्न समारोह तथा कार्यक्रमको दिन र सो को पूर्व अभ्यास (रिहर्सल) को समयमा राष्ट्रिय गान तथा धुन बज्दा उपदफा (१) बमोजिम सम्मान गर्नुपर्नेछ ।