‘डीभीएमको जग्गा फुत्कन नदिन दुतावाससम्म लबिङ !’

Newslaya Home

‘डीभीएमको जग्गा फुत्कन नदिन दुतावाससम्म लबिङ !’

सोमबार ०६, जेठ २०७६

इटहरी । इटहरीस्थित डीभीएम स्कुलले प्रयोग गर्दै आएको जग्गा इटहरी उपमहानगरपालिका माताहत ल्याउने प्रक्रिया जारी छ ।

वैशाखमा उद्घाटन गर्ने गरी त्यहाँको २ विगाहा १६ कठ्ठा जग्गामा जनता पार्कको शिलान्याससमेत भइसकेको थियो । तर स्कुल सञ्चालकहरुले विभिन्न अवरोध गरिरहेको मेयर द्वारिकलाल चौधरी बताउँछन् ।

अवरोधका बिच उपमहानगरपालिकाले बनाएको अध्ययन समितिले जग्गा नगरपालिका माताहत ल्याउन सुझाव दिएको छ । 

यता मेयर चौधरी भने गर या मरको अवस्थामा छन् । शिलान्यास गरेको कामलाई अघि नबढाउँदा यसैपनि आलोचना भइरहेको छ । त्यसमाथि इटहरीभरीका सार्वजनिक जग्गा खोज्न मेयर लागिपरे भन्ने खबर फैलिएपछि मेयरप्रति इटहरीवासीको आशा पनि चर्कै छ । त्यो आशा पुरा हुन्छ वा हुँदैन, पहिलो संकेत डीभीएम स्कुलको जग्गाले देखाउनेछ ।

पार्क निर्माण अघि बढाउन दुई महिनाअघि नै नगरपालिकाले घेराबाराको लागि टेण्डर निकालेको थियो । कन्सल्टेन्टलाई ब्युटिफिकेसनको लागि योजना बनाउने जिम्मा पनि दिइसकेको थियो । तर स्कुल सञ्चालकको धम्कीका कारण काम रोकिएको छ । प्रशासकीय अधिकृतदेखि कर्मचारीहरुसमेत अहिले योजना कार्यान्वयन गर्न डराइरहेको मेयर चौधरी बताउँछन् ।

चौधरीकाअनुसार डीभीएम स्कुल सञ्चालन गर्ने व्यापारीको समुह सबै हिसाबले जग्गा जोगाउन लागिपरेको छ । विभिन्न पार्टीमा आबद्ध व्यापारीहरुको समुह भएकोले स्कुल सार्वजनिक जग्गालाई आफ्नै नाममा प्रयोग गरिरहन हर तरहको प्रयासमा लागिपरेको उनको आरोप छ ।

‘यहाँसम्म कि भारतको स्कुल दयानन्द वैदिक मिसनसँग जोडिएको हुनाले भारतीय एम्बेसीसम्म पनि लबिङ गरेको जानकारी पाएको छु,’ उनले भने, ‘प्याब्सनदेखि क्रिकेट खेलाडीसम्मलाई नगरपालिकाविरुद्ध प्रयोग गरिरहेको छ ।’

तर उनले कुनै हालतमा जग्गा नगरपालिका माताहत ल्याइ छाड्ने बताए । उनले डीभीएम स्कुलका सञ्चालकहरुलाई विभिन्न चार विकल्प दिएका छन् । 

यता स्कुल सञ्चालकले भने जग्गा उपयोग लामो समयदेखि गरिरहेको जानकारी दिँदै ३० साल तिर जग्गा किनेर उपयोग गर्दै आएको जनाउँदै आएका छन् ।

डिभीएम सञ्चालकलाई मेयरको चेतावनी : सम्झौतामा आऊ नत्र डोजर चलाउँछौं

डीभीएम स्कुलको जग्गा नगरपालिका माताहत ल्याइने, आइतबार अन्तीम वार्ता हुँदै