सैनिक जवान हत्याको आरोपमा ६ जना नियन्त्रणमा, गाउँमा भागाभाग

Newslaya Home

सैनिक जवान हत्याको आरोपमा ६ जना नियन्त्रणमा, गाउँमा भागाभाग

सोमबार ०६, जेठ २०७६

सिरहा । २५ वर्षीय सैनिक जवान अनिश कुमार सिंहलाई चोरी आरोपमा कुटपिट गरि मारेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । सिंहलाई गत वैशाख २८ गते राती चोरीको आरोपमा कुटपिट गरी हत्या गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलका अनुसार वीरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा केही स्थानीय युवाले सिंहलाई विजुलीको खम्वामा हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

कुटाइबाट सख्त घाइते सिंहको उपचारको क्रममा छाउनीस्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो ।

सैनिक जवान सिंहलाई नियन्त्रणमा लिइ कुटपिट गर्दा मृत्यु भएपछि गाउँका युवा तथा पुरुषहरु अहिले गाउँ छोडेर भागेका छन् । गाउँमा महिला, बालबालिका र वृद्धहरुमात्र रहेका छन् ।