डिभीएम सञ्चालकलाई मेयरको चेतावनी : सम्झौतामा आऊ नत्र डोजर चलाउँछौं

Newslaya Home

डिभीएम सञ्चालकलाई मेयरको चेतावनी : सम्झौतामा आऊ नत्र डोजर चलाउँछौं

स्कुल सञ्चालकलाई चार विकल्प
आइतबार ०५, जेठ २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी–९ मा ऐलानी जग्गा ओगटेर सञ्चालनमा रहेको डिभिएम स्कुलमा डोजर चलाउने चेतावनी दिएका छन् ।

आइतबार स्कुल सञ्चालकहरुसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सम्झौतामा आउन वा ऐलानी जग्गामा बनेको सबै संरचना छाडेर जान चेतावनी दिएका हुन् ।

स्कुलले लामो समयदेखि प्रयोग गर्दै आएको २ विगाहा १६ कठ्ठा जग्गाको लालपुर्जा छैन । तर स्थानियहरुले पैसा तिरेर ३० सालतिरै भोगचलन गर्दै आएको स्कुल सञ्चालक ध्रुव सुब्बा बताउँछन् । ‘पछि दर्ता होला भनेर वास्ता गरिएन,’ उनले भने, ‘अहिले स्कुल भत्काउनेसम्मको चेतावनी आइरहेको छ ।’

तर यता मेयर चौधरीले भने सम्झौतामा नआए सोमबार आफै डोजर लिएर स्कुल भत्काउन जाने चेतावनी दिएका छन् ।

उनले स्कुल सञ्चालकलाई चार विकल्प दिएका छन् । निमार्णधिन भौतिक संरचना भएको ठाउँको भाडा तिर्नु पर्ने पहिलो विकल्प छ ।

यस्तै सट्टा पट्टा गर्नुपर्ने अर्को विकल्प दिइएको छ । स्कुलको भवन ऐलानी जग्गामा बनेको छ भने स्कुलको ६ कठ्ठा बढी नम्बरी जग्गा छेउमै पर्छ । मेयर चौधरीले उक्त नम्बरी जग्गासँग स्कुलको भवन बनेको जग्गा साट्न प्रस्ताव गरेका हुन् ।

यस्तै स्कुलले बनेको संरचनाको रकम उपमहानगरबाट किस्ताबन्दीमा लिने गरी बेच्न प्रस्ताव गरेका छन् ।

यस्तै मेयर चौधरीले बनेको संरचनासहितको जग्गा छोडेर जानसमेत प्रस्ताव गरेका छन् । ‘हामीले विभिन्न विकल्प दिदा पनि नमाने डोजर चलाउने तयारी गरेका छौं,’ मेयर चौधरीले भने ।

डीभीएम स्कुलले ओगटेको उक्त जग्गामा जनता पार्क बनाउने भनेर शिलान्याससमेत भइसकेको छ । बैशाखमा जनता पार्क उद्घाटन गर्ने भनिएपनि काम नै सुरु हुन सकेको छैन ।