डीभीएम स्कुलको जग्गा नगरपालिका माताहत ल्याइने, आइतबार अन्तीम वार्ता हुँदै

Newslaya Home

डीभीएम स्कुलको जग्गा नगरपालिका माताहत ल्याइने, आइतबार अन्तीम वार्ता हुँदै

शनिबार ०४, जेठ २०७६

इटहरी । इटहरी ९ स्थित डीभीएम स्कुलले उपयोग गर्दै आएको जग्गा इटहरी उपमहानगरपालिका अन्तर्गत ल्याउने विषय कार्यपालिका बैठकबाट पारित भएको छ ।

जग्गाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले दिएको सुझावअनुसार कार्यपालिकाले यस्तो निर्णय गरेको हो ।

निर्णय कार्यान्वयन गर्नको लागि अन्तीम पटक आइतबार नगरपालिकाले डीभीएम सञ्चालकहरुलाई छलफलका लागि बोलाएको छ । जसमा कार्यपालिकाको निर्णय सुनाएर जनता पार्क निर्माणको काम सुरु गर्नेबारे जानकारी दिइने इटहरीका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

इटहरी वडा नं. ९ का वडाध्यक्ष भुपेन्द्र बराल संयोजक रहेको समितिले त्यहाँ रहेको २ विगाहा १६ कठ्ठा जग्गालाई इटहरी उपमहानगरपालिका माताहत ल्याउनुपर्ने सुझाव दिएको थियो ।

यसअघि उक्त ठाउँमा जनता पार्क बनाउने भनेर शिलान्यासमेत भइसकेको थियो । २०७६ सालको वैशाखमा उद्घाटन गर्ने भनिएपनि स्कुल सञ्चालकहरुको अवरोधका कारण काम नै सुरु हुन सकेको थिएन ।

शिलान्यास गरेर समेत पार्क निर्माण नथालिएपछि उपमहानगरपालिकाको आलोचना सुरु भएको छ । ‘हामीलाई इच्छाशक्ति नभएको र गर्न नसकेको ट्याग लाग्न सक्छ,’ मेयर चौधरीले भने, ‘तर हामी अब कुनै हालतमा पछि हट्दैनौं ।’
यता डिभीएम स्कुल सञ्चालकहरुले भने उक्त जमिन आफूहरुको नाममा रहेको दावी गर्दै आएपनि आधिकारीक प्रमाण दिन सकेका छैनन् ।

उक्त जग्गा उच्चस्तरीय वन सुदृढीकरण आयोगले कसैको नाममा दर्ताका लागि कित्ताकाट गरेको, तर कुनै पनि व्यक्तिको नाममा फिल्डबुक तयार नभएकाले सार्वजनिक पुष्टि भइसकेको मेयर चौधरीले बताए । ‘त्यसैले यो जग्गालाई अब नगरले आफ्नो प्रयोजनका लागि प्रयोग गर्छ,’ उनले भने ।

डीभीएम स्कुलले चर्चेको उक्त जग्गामा अहिले क्रिकेट प्रतियोगिताहरु हुने गर्छ । प्रतियोगिताको लागि चउर मिलाउनको लागि लाखौं रुपैयासमेत खर्च भइसकेको छ । पार्क बनाउने निर्णयसँगै क्रिकेट प्रतियोगिताका लागि पछि ठाउँ नपाउने चिन्तामा क्रिकेटप्रेमीहरु छन् ।

तर यसअघि नै मेयर चौधरीले खेललाई असर नपुग्ने गरी पार्क निर्माण थालिने र क्रिकेटका लागि अर्को ठाउँ व्यवस्था गर्ने घोषणा गरिसकेका छन् ।