इटहरी उपमहानगरपालिकाका कर्मचारी र कार्यालयको सही छाप किर्ते

Newslaya Home

इटहरी उपमहानगरपालिकाका कर्मचारी र कार्यालयको सही छाप किर्ते

बिचौलियाको पछि नलाग्न र कर्मचारीलाई सिधै भेट्न नगरपालिकाको आग्रह
शनिबार ०४, जेठ २०७६

इटहरी । गत माघ महिनामा इटहरी ५ की मिरा खड्काले आफ्नो घर निर्माणको जिम्मा एउटा कम्पनिलाई दिइन् । सुरुवातमै सात लाख रुपैया दिएको केही समयसम्म घर बनाउन कम्पनिले आलटाल गर्यो ।

बिल्ड एंगल्स कन्स्ट्रक्सन नामक कम्पनिको सञ्चालक बताउने सञ्जय काफ्लेले काम जिम्मा लिएका थिए । उनले पछि नक्सापास भएर निर्माण इजाजतपत्र आइसकेको भन्दै कागजात खड्कालाई थमाए । काम पनि सुरु भयो, तर लगत्तै काफ्ले बाउन्स चेकसम्बन्धि अर्कै मुद्धामा पक्राउ परे । घर बनाउन ऋणको प्रक्रिया चलिरहेको थियो ।

ठेकेदार नै समातिएपछि कागजी कामको विषयमा बुझ्न खड्का इटहरी उपमहानगरपालिका पुगिन् । त्यहाँ पुगेर फाइल खोजिन् । तर फाइल भेटिनन् । उनी त्यती बेला हैरान भइन्, जब उनीसँग भएको घर नक्सा पास र निर्माण इजाजतको कागजमा हस्ताक्षर गर्ने कर्मचारीहरुले नै हस्ताक्षर आफ्नो होइन भने ।

आखिरमा घर निर्माणसम्बन्धि काम गर्ने काफ्लेको समुहले इटहरी उपमहानगरपालिकाका कर्मचारीको सही र छाप किर्ते गरेको खुलासा भयो ।

नक्सा पास गर्ने क्रममा नक्कली फाइल नम्बर राखी सहीछापसमेत नक्कली गरेर डकुमेन्ट बनाएको खुलेको हो ।

उपमहानगरपालिकाका इन्जिनियर विकास भट्टराई, प्रमुख इन्जिनियर अर्जुन दाहाललगायत चार जनाको हस्ताक्षर किर्ते गरेको इन्जिनियर विकास भट्टराईले जानकारी दिएका छन् ।

किर्ते गरेको थाहा पाएपछि इटहरी उपमहानगरपालिकामा हल्लीखल्ली भयो । नगरपालिकाको कार्यपालिका बैठकले छानविन समिति गठन गरेको छ । साथै उपमेयर लक्ष्मी गौतमको हस्ताक्षरमा एउटा विज्ञप्तीसमेत जारी गरिएको छ । विज्ञप्तीमा विचौलियाको पछि नलाग्न र आफ्नो कामको लागि कागजातसहित आफै वा प्रतिनिधि पठाउन भनिएको छ ।

भाई नाता पर्ने सुन्दरहरैंचाका दिपेश बाँनियाले सञ्जयसँग खड्कालाई भेटाइदिएका थिए । नातेदारको विश्वासमा परेर काम र पैसा जिम्मा दिएको खड्का परिवार यतिखेर पैसा फँसेर तनावमा छ ।