बाल नाटक महोत्सवमा अधुरो यात्रा प्रथम

Newslaya Home

बाल नाटक महोत्सवमा अधुरो यात्रा प्रथम

बुधबार ०१, जेठ २०७६

धरान । १३ वर्षिय बालिका हत्या प्रकरणको विषयवस्तुमा आधारित नाटक ‘अधुरो यात्रा’ ले बाल नाटक महोत्सवको प्रथम पुरस्कार जित्न सफल भएको छ ।

धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा मंगलबार भएको बाल नाटक महोत्सवमा युरेका उच्च माविका विद्यार्थीहरुले प्रदर्शन गरेको नाटक अधुरो यात्राले प्रथम पुरस्कार ३५ हजार सहित ट्रफि हात पारेको छ । उनीहरुले धरान १६ स्थित जोरसखुवाकी १३ वर्षिय बालिका अनुषा राईको हत्या काण्डलाई नाटक घटनाको उजागार गरेका थिए ।

धरान ८ स्थित सभागृहमा सम्पन्न भएको नाटक महोत्सवमा सडक बालबालिकाहरुको पीडामा आधारित रहेको दन्तकाली माविको प्रस्तुती ‘उज्यालोतिर’ ले दोस्रो पुरस्कार जित्न सफल भएको छ । दन्तकालीले नगद २५ हजार रुपैया पुरस्कार हात पारयो । त्यस्तै समिट उच्च माविका विद्यार्थीहरुको प्रस्तुती रहेको ‘नयाँ गन्तव्य’ नाटकले तेस्रो पुरस्कार प्राप्त गरेको छ भने शारदा बालिका माविको ‘बालहिंसा’ नाटकले सान्तवना प्राप्त गरेको छ । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैया नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ठ निर्देशक अधुरो यात्राका निर्देशक शान्तिराम राई भए । उनले नगद १० हजार रुपैया पुरस्कार पाएका थिए । उनले पुरस्कार राशी धरानको थियटर हल निर्माणका लागि सहयोग स्वरुप प्रदान गरेका छन् ।

महोत्सवका प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले स्कुले विद्यार्थीहरुको नाटक क्षमता र अभिनय हेरेर भावुक भएको प्रतिक्रिया दिए । विजेता विद्यालयलाई आयोजक प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे र प्रमुख अतिथि एवं सांसद राईले पुरस्कार वितरण गरेका थिए ।